बनेपा, पालिका निर्वाचन सकेर संघिय निर्वाचनको तयारीमा रहेको गठबन्धन सरकारले चुनाव मुखी बजेट ल्याएर जनताका आम चासोको बिषयमा नबोलेपछि जनमुखी बजेट आउने आशामा रहेका जनतालाई यो बजेट पनि हात्ति आयो हात्ति आयो फुस्सा भने जस्तै भएको छ ।
चुनावी ऐजेण्डा बनाउन कै लागि सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । तर बजेटमा पुराना केपी ओली सरकारका योजनालाई केहि परिवर्तन गरेर अघि बढाएको छ भने अरु प्राय चुनाव केन्द्रित कार्यक्रम रहेका छन ।
अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नेलाई सम्मान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षाको दायरा बढाएपनि त्यस्तो सामाजिक सुरक्षा नलिन स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने बताए ।

उनले ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता दिने गरिएकोमा आगामी वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भत्ता दिने बताए ।

त्यस्तै सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि मार्गदर्शन गर्न सो उच्चस्तरीय संयन्त्र उपयोगी हुने विश्वाससमेत व्यक्त गरे । बजेटमा कृषकहरुलाई सहज र सरल रुपमा बिउ, मल, प्रविधि, सिंचाई सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि बिमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने पनि उल्लेख गरिएको छ । सरकारले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने घोषणा गरेका हुन् ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरिएको बताए ।

यसअघि ७१ प्रकारका औषधि मात्रै निःशुल्क वितरण हुँदै आएको थियो । मन्त्री शर्माले मिर्गौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, मेरुदण्डको उपचार गरिरहेका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने बताए । उनले त्यसका लागि १ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिए ।
– नव क्षितिज साप्ताहिकबाट