धुलिखेल, जिल्ला कृषि गणना कार्यालय काभ्रेले वैशाख ६ गतेबाट कृषि गणना गर्ने भएको छ । कृषि गणना बारे जानकारी दिन राखेको गोष्ठिमा जिल्ला तथ्याङ्क कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कृषि गणना अधिकृत दिपक कोइरालाले उक्त जानकारी दिएका हुन ।

जसका लागि कार्यालयले जिल्ला स्थित सरोकारवाला पक्षसंग छलफल गरेको छ । जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ स्थानीय तह छन् । १३ वटै स्थानीय तहमा कृषि गणक खटाइनेछ । काभ्रेमा कृषि गणनाका लागि ८६ जना गणक र २२ जना सुपरिवेक्षण खटिनेछ । सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा २२ वटा क्षेत्र र सबैभन्दा कम खानीखोला गाउँपालिका १४ वटा क्षेत्र रहेको कार्यालयले जनाएको छ । त्यस्तै धुलिखेल, बनेपा र रोशीमा १८ केन्द्र, पाँचखाल र पनौतीमा २० केन्द्र, नमोबुद्धमा १९, चौरी, तेमाल र भुम्लुमा १६, बेथान र महाभारतमा १५ बटा क्षेत्र तोकिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायतले कृषि गणना बारे मन्तब्य राखेका थिए भने तथ्याङ्क कार्यालय काभ्रेका प्रमुख दिपक कोइरालाले कृषि गणना बारे कार्यपत्र प्रस्तुत गरेका थिए । –नव क्षितिज साप्ताहिकबाट