सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता दिपक जंगमसहितका युवाहरु माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी प्रवेश गरेका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी सुशिलले नवप्रवेशीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले अबको स्थानीय तहको निर्वाचनपछि र संसद्को निर्वाचन अगाडी यो देशको राजनीतिमा ठूलो फेरबदल ल्याउने दाबी गरे । अहिलेको अवस्थामा नेपाल श्रीलंकाको बाटोमा गएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा इतिहासकै असक्षम प्रधानमन्त्री भएको आरोप लगाए । साथै, उनले देश अहिले उकुुसमुकुसको अवस्थामा रहेको भन्दै राष्ट्रिय राजनीति जनप्रारम्भ सम्मेलनमार्फत नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीले देशलाई सही ठाउँमा पुर्याएर निकाश दिने विश्वास दिलाए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य योगेश रालफालीले माओवादी केन्द्रको पुरानो घर बिग्रिएपछि नयाँ घर निर्माण गर्न लागेको बताउँदै इमान्दार साथीहरुलाई स्वागत गर्न पाउँदा निकै खुसी महसुस भएको टिप्पणी गरे । नवप्रवेशी नेता अधिवक्ता दिपक शर्मा जङ्गमले माओवादी केन्द्रमा माक्र्स र लेलिनवादी सिद्धान्तभन्दा बढी व्यक्तिवाद परिपाटी हावी भएको आरोप लगाए । आफुले गरेको योगदानलाई पार्टीले कदर नगरेको भन्दै सहिदका बाँकी सपना पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेको उनको भनाई थियो । –नव क्षितिज साप्ताहिकबाट