बनेपा, आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा राजनितिक दलहरु घरदैलोमा र निर्वाचन आयोग तयारीमा जुटेको छ ।
यहि क्रममा निर्वाचन कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ भने काभ्रेमा ३० दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित निर्वाचन चिह्न प्राप्तिका लागि काभ्रेमा २४ दलले निवेदन दिएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादीकेन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालसहित अन्य दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । दर्ता भएका दलबाहेक अन्य दलले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने हुन्छ ।
यस्तै आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । जस अनुरुप जिल्लामा पुरुष १ लाख ५४ हजार १ सय ८३, महिला १ लाख ४९ हजार ३ सय ७५ र अन्य २ गरी ३ लाख ३ हजार ५ सय ६० मतदाता रहेका छन् ।
मतदानका लागि १ सय ८९ वटा मतदान स्थल कायम भएका छन् । जसमा ३ सय ८१ वटा मतदान केन्द्र कायम भएका छन् । आयोगले पालिका अन्र्तगतका सबै वडा र वडा अन्र्तगत रहेका निर्वाचन स्थल र केन्द्रमा सहभागि हुने मतदाताहरुको सूची सार्वजनिक गरिसकेको छ जुन तालिका पत्रिकाको पृष्ठ ४ मा रहेको छ । यस अघि मतदान केन्द्र ३ सय ५० वटा कायम थिए । मतदाता संख्या थपिए सँगै मतदान केन्द्र थपिएका हुन् ।
जिल्लामा सबैभन्दा धेरै पनौती नगरपालिकामा ३८ हजार १ सय ४५ मतदाता रहेका छन् । बनेपा नगरपालिकामा ३७ हजार ५ सय ८१ मतदाता रहेका छन् भने सबै भन्दा कम खानीखोलामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । चौरीदेउरालीमा २० हजार १ सय ९१, तेमालमा २१ हजार १ सय ८, धुलिखेलमा २५ हजार ५ सय ८, नमोबुद्धमा २५ हजार ९ सय ५२, पाँचखाल २९ हजार ६ सय ९७ रहेका छन् । बेथान्चोकमा १४ हजार ५ सय ५१, भुम्लुमा १७ हजार २४, महाभारतमा १२ हजार ४ सय २०, रोशीमा २२ हजार ५ सय ४३ र मण्डनदेउपुरमा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् । पुण विवरण तालिकामा रहेको छ । –नव क्षितिज साप्ताहिकबाट