बनेपा, नेपाली काँग्रेसले देशभर सुरु गरेको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ काभ्रेमा पनि जारी रहेको छ ।

स्थानीय तहको निर्वाचन २०७९ लक्षित गर्दै काँग्रेसले सञ्चालन गरेको सो अभियान जिल्लाको १३ वटै स्थानीय तहका १ सय तहका १३५ वडामा सञ्चालन हुने छ । उक्त अभियानको केहि दिन अघि काँग्रेस प्रवक्ता डा .प्रकाशसरण महतले शुभारम्भ गरेका थिए ।

जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र र १३ स्थानीय तह सबैमा एकैसाथ अभियान सञ्चालन गरिएको जिल्ला सह–सचिव रविन्द्रनाथ सिग्देलले बताए । उनका अनुसार जिल्ला, सबै क्षेत्र तथा स्थानीय तहको पार्टी समितिका पदाधिकारी तथा सदस्य वडास्तरमा गई काँग्रेसबाट स्थानीयवासीले चाहेको विषय, अप्ठ्यारा र वर्तमान स्थानीय तहको नेतृत्वले गरेको गतिविधिमा उनीहरुको धारणाका बारे घरघरमा गएर जानकारी लिइनेछ । काँग्रेसका उम्मेदवारलाई मत हाल्न प्रेरित गरिनेछ ।
अभियानअन्तर्गत शुभेच्छुक संस्था गठन तथा बस्ती र क्षेत्रको केन्द्र हुने गरी सरोकारवालासँग अन्तक्र्रिया र छलफल कार्यक्रमसमेत गरिने छ । अभियानका लागि पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य उर्मिला केसीलाई काभ्रे खटाएको छ । –नव क्षितिज साप्ताहिकबाट