भकुण्डेबेशी, नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीहरुका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । शुक्रबारबाट नमोबुद्ध नगरपालिका ८ मा रहेको दाप्चा माविमा सुरु भएको तालिमको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले उद्घाटन गरेका थिए ।
नमोबुद्ध नगरपालिका वडा नं १, ७, ८, ९ र १० का विभिन्न पाँचवटा विद्यालयका ४० जना किशोरीहरु तालिमममा सहभागी भएका छन् । नमोबुद्ध नगरपालिकाको सहयोगमा नमोबुद्ध नगरपालिका ८ मा रहेको द माउन्ट एभरेष्ट तेक्वान्दो डोजाङले तालिम आयोजना गरेको हो । उक्त डोजाङका प्रशिक्षकहरुले तीन दिनसम्म किशोरीहरुलाई प्रशिक्षण दिनेछन् । लैंगिक हिंसा न्यूनिकरण गर्ने लक्ष्य साथ उक्त तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गर्ने र यसले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । महिलामैत्री, बालमैत्री नमोबुद्ध नगर निर्माणका लागि आफूहरु निर्वाचित भएदेखि नै निरन्तर विविध कार्यक्रमहरु सञ्चालन गरिएको तिमल्सिनाको भनाई थियो । यस्तै उपप्रमुख रामदेवी तामाङले किशोर उमेरदेखि नै लैैगिक हिंसा सुरु हुने गरेको भन्दै त्यसलाई न्यूनिकरणका लागि यस्तो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालिम आयोजना गर्नुको कारणबारे प्रष्ट पारेका थिए । दाप्चा माविका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतले पछिल्लो आत्मरक्षा तालिमबाट हुने फाइदाका विषयमा मन्तव्य राखेका थिए । –नव क्षितिज साप्ताहिकबाट








