भर्खरै हाम्रो देशमा धेरै समयदेखि ठूलो विवादमा रहेको आम जनता, राजनीतिक दल, समाजका बुद्धिजीवी सबैको चासो रहेको एमसिसि सदनबाट पास भयो । कतिले यसको विरोध गरे भने कतिले समर्थन गरे । त्यो बुझेर गरे वा नबुझेर गरे बिरोध गर्नेले नै जानुन । तर वास्तवमा यो राम्रो हो कि नराम्रो हो त्यो धेरैले बुझेको छ जस्तो लाग्दैन । तर जस जसले बुझे पनि वा नबुझे पनि आम मानिसले बुझ्ने भनेको चाँहि अमेरिकाले योभन्दा पहिला अन्य मुलुकमा गरेका कामको आधारमा हो । अहिलेसम्म अन्य मुलुकमा अमेरिकाले गरेको ब्यवहार त्यति राम्रो देंखिदैन । हरेक ठाउँमा थिचोमिचो नै गरेको देखिन्छ । अहिले दिने भनेको सहयोग भनेको नि त्यति धेरै रकम पनि होइन । अनि फेरि त्यो मध्येको धेरै जसो रकम फेरि उतै फर्कने पनि छ । यसरी सामान्य हिसाबले बुझ्दा पनि यो आउनु राम्रो देंखिदैन । तर यहाँ हाम्रो देशका नेतालाई यो जसरी पनि पास गराउनै थियो ।

धेरैले यस बारे विस्तृत नबुझि बोले भन्ने पनि छ । तर अमेरेकालाई बुझ्न तेत्रो धेरै गार्हो पनि छैन । अमेरिकालाई सबैले अन्य देशमा गरेका गतिविधिले पनि चिनेकै छन् । अमेरिका बुझ्नु र एमसिसि बुझ्नु भनेको हात्ती र हात्तिछाप चप्पल भन्या जस्तै हो । एमसिसि अमेरिकाको विदेश नीतिमा सहयोग पुर्याउने विश्व राजनीति अन्तरगत एउटा सामान्य प्रोजेक्ट हो । तर यसमा धेरै कुराहरु लुकेको अनुभुति हुन्छ । होइन भने सहयोग गर्ने कुरा पनि जवरजस्त कसैले गर्न खोज्छ त ? अहिले विश्वमा पेट्रोलियम भण्डारण न्यून हुँदै गैरहेको छ । भविष्यमा बैकल्पिक उर्जा संभावना हुने स्थानको खोजीमा अहिले सबै शक्तिशाली राष्ट्रहरु लागिरहेको पाइन्छ । त्यो संभावना नेपालमा रहेकोले अमेरिकाको चासोको बिषय बन्न पुगेको हो जस्तो लाग्दछ ।

अमेरिकनहरु जति नै सभ्य, भद्र, सालिन देखिए पनि अन्तर मनबाट अति नै स्वार्थी हुन्छन् । हाम्रो देशको विकास गर्ने भनेता पनि उनीहरुले यहाँको युरेनियम, हिमालय क्षेत्रमा पाइने रुबि लगाएत बहुमुल्य खनिज पदार्थ र जडिबुटीमा आँखा गाडेका छन् । यो ध्रुव सत्य कुरा हो । हाम्रो देशको अस्थिर राजनिती र भारतद्वारा संचालित राजनिती रहेको देश हुनाले सार्वभौम सम्पन्न भनेर हामी नेपालीले गर्व गर्नु बेकार छ । त्यसकारण हाम्रा भ्रष्ट नेता भनाउँदाहरुको मनपरी भन्दा विदेशीको गुलाम बन्दा बरु फाइदा होला भन्ने आम नेपालीलाई लाग्न थालेको छ । वास्तवमा यो खालको भावना आम जनतामा आउनु नेताको ब्यवहारले गर्दा हो । नेताको यस्तो नकारात्मक कुराहरु सहनुभन्दा बरु बिदेशी आएर केहि गर्देला कि भन्ने लाग्न थालेको हुनसक्छ । त्यस कारण पनि जनताले जेसुकै गरुन भनेर त्यति चासो नदिएको देखिन्छ । नत्र स्वाभिमानी नेपाली भएर मात्र के गर्नु देशको अर्थतन्त्र नै वैदेशिक रोजगारीमा गएर भाँडा माझेको पैसाले धानेको छ । यदि देशमा रेमिटेन्स नआउने हो भने देश अगाडि बढ्नै सक्दैन । यसरी अरुको आशमा कहिलेसम्म बस्ने हो ? अब बेलैमा सोच्नु पर्ने समय आएको छ ।

चाइनासँग शीत युद्व गर्न अमेरिकालाई हाम्रो भुपरिवेष्ठित भुमी त्यति उपयुक्त हुँदैन । अमेरिकाले नेपाललाई सिरिया र अफगानिस्तान जस्तै बनाउँछ भन्ने पनि होइन । तर यहाँ भएका सम्भावना भने पक्कै पनि अध्ययन गरि भविष्यमा आफ्नो रणनीति बनाउनेछ । अन्यथा अमेरिकाले नेपाललाई किन अनावश्यक सहयोग गर्दथ्यो र ? यत्ति त हामीले बुझन आवश्यक छ । तर एमसिसि पास गराउनको लागि हाम्रा देशमा नेताले भने आफ्नो स्वार्थ लुटेको प्रष्ट हुन्छ । तर यसमा हाम्रा नेताहरुले देशको स्वार्थ भने राख्न नसकेकै हो ।

हामी आफू पनि केहि गर्न नसक्ने अनि अरुलाई पनि गर्न नदिने हो भने यहाँ भएको बस्तुको के महत्व भयो त ? बरु भएको बस्तुलाई सहि सदुपयोग गरि प्रयोगमा ल्याउन सक्दा दुबै पक्षलाई हितकर हुनसक्छ । जे जति छ त्यसको सहि सदुपयोग गरि आम जनता र देशको विकासमा लाग्नुपर्छ । अनि न त्यहाँ बस्तु भएको अनुभुति हुन्छ र अन्य कुरामा जाँगर बढ्न सक्छ । यसमा आवश्यक प्रक्रिया अगाडी बढाई सधैं आम जनता र देशको हितमा लाग्न आवश्यक छ । –नव क्षितिज साप्ताहिकबाट