सरकारले विद्यालय तह (कक्षा १–१२) को पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाएको छ । २०७६ मा सरकारले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरेको थियो । त्यसलाई परिमार्जन गर्न विभिन्न तहमा काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनको काम भइरहेको बताएका छन् ।
शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले प्रारूप परिमार्जन गर्ने निर्णय गरेको थियो । गत वैशाखमा पाठ्यक्रम परिमार्जन तथा पुनरावलोकन कार्यदल गठन गरी प्रक्रिया थालिएको थियो । काठमाडौं विश्वविद्यालका प्राध्यापक बालचन्द्र लुइँटेल संयोजकत्वको कार्यदलले नयाँ पाठ्यक्रम निर्माणका लागि देशभर नै सुझाव संकलनको काम गरिरहेको छ । सुझाव संकलनका लागि शिक्षामन्त्री पोखरेलसमेत प्रदेशस्तरीय छलफलमा सहभागी भएका छन् ।








