बनेपा, असोज ८ देखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन । असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीको अन्तरक्रियाका कारण विशेषगरी सुदूरपश्चिम र मध्य नेपालमा वर्षाको प्रभाव बढी पर्न सक्ने भएकाले बाढी, पहिरो तथा जनधनको क्षति रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको र उक्त प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने सम्भावना रहेको महाशाखाको आकलन छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताएका छन । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन–मैले धेरैवटा फोरकास्ट मोडल हेर्दा धेरै वर्षाको सम्भावना बढी देखिन्छ । ४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने छ, यो भनेको एकदम धेरै हो र नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ तर यसले ल्याउन सक्ने अवस्था गम्भीर हुन सक्छ । असोज ८ देखि १२ गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाडीबाट विकसित प्रणालीको प्रभाव बढ्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तरक्रिया हुने सम्भावना देखिन्छ । यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिँदा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूको आकलन छ ।
भारतीय मौसम विज्ञान विभाग(आईएमडी)का अनुसार अन्डमन सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाडीमा मौसमीय गतिविधि बढ्ने र त्यसबाट नेपालतर्फ मनसुनी आद्रता भित्रिने सम्भावना देखिएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी पूर्व बंगालको खाडी र पश्चिमको प्रणाली पनि मिसिने सम्भावना रहेको बताउँछन् । ’अहिले प्रारम्भिक ट्र्याक हेर्दा सुदूरपश्चिम र मध्य नेपालमा धेरै भारी वर्षा हुने सम्भावना देखिन्छ,’ उनले भने । मौसमी सूचनाहरू हेर्दै आवश्यक सतर्कता अपनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् । अन्डमन सागरमा चक्रवात बने पनि नबने पनि नेपालमा प्रभाव पर्ने सम्भावना देखिएको मौसमविद् अधिकारीले जानकारी दिए । नेपालमा सामान्यतया अक्टोबर २ तिर मनसुन बाहिरिने गर्छ । अहिलेको मौसमी प्रणाली सक्रिय नै रहेकाले सोही मितिको आसपासमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । गत वर्ष भने असोज तेस्रो साता नेपालबाट मनसुन बाहिरिएको थियो । यस वर्ष सरदरभन्दा १० दिन ढिला गरी असार ५ गते मनसुन नेपाल भित्रिएको थियो । केही वर्षयता नेपालमा असोजमा भारी वर्षा भइरहेको छ ।








