अन्तर्राष्ट्रिय सामाजिक संस्था, युनाइटेड नेचर इन्टरनेशनल पिसको नेपाल च्याप्टरले आफ्नो ऐतिहासिक प्रथम साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार काठमाडौँमा आयोजितसभाले नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व प्रल्हाद दाहाललाई संस्थाको राष्ट्रिय वरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।
शान्ति, प्रकृति संरक्षण र दिगो विकासका लागि क्रियाशील यस संस्थाको नेतृत्व तहमा दाहालको आगमनले नेपालमा संस्थाको अभियानले नयाँ गति लिने विश्वास गरिएको छ । सभामा संस्थाका सदस्यहरू, सामाजिक अभियन्ताहरू, र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका नेपाल अध्यक्षले संस्थाको अन्तर्राष्ट्रिय उद्देश्य र नेपालमा यसका भावी कार्ययोजनाबारे प्रकाश पार्नुभएको थियो ।
साधारण सभाको बन्दसत्रले संस्थाको विधान पारित गर्दै नयाँ कार्यसमितिको चयन प्रक्रिया अगाडि बढाएको थियो । राष्ट्रिय वरिष्ठ उपाध्यक्ष पदका लागि प्रल्हाद दाहालको मात्र उम्मेदवारी परेको र उहाँको सामाजिक योगदान तथा व्यावसायिक दक्षताको कदर गर्दै सभाले उहाँलाई सर्वसम्मतिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । दाहाल नेपालको डेरी तथा कृषि उद्यमको क्षेत्रमा एक स्थापित र सम्मानित नाम हो । उहाँ लामो समयदेखि नेपाल डेरी एसोसिएसनमा आबद्ध रही हाल अध्यक्षको गरिमामय जिम्मेवारी सम्हालिरहनुभएको छ । उहाँ अन्य विभिन्न सामाजिक तथा व्यावसायिक संस्थाहरूमा समेत सक्रिय रूपमा संलग्न हुनुहुन्छ ।
नवनिर्वाचित राष्ट्रिय वरिष्ठ उपाध्यक्ष प्रल्हाद दाहालले सभालाई सम्बोधन गर्दै आफूलाई यो गरिमामय पदमा निर्विरोध निर्वाचित गरेकोमा सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले मैले आजसम्म कृषि र डेरी क्षेत्रमा आर्जन गरेको अनुभव र सम्बन्धलाई अब प्रकृति संरक्षण र सामाजिक शान्तिको बृहत्तर अभियानमा लगाउने बताउनुभयो ।