काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा २०८२ साउन २५ गते “जात्रा” विषयमा केन्द्रित भई टुक्का कविता लेख्दै श्रृङ्खला १८० सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानबाट ६९ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले गर्नु भएकाे थियाे ।

टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रम सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी भएर “जात्रा” विषयमा केन्द्रित भई टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

१)_[ टुक्का कविता ]_

जात्रा हेर्दैमा याे देशकाे जिन्दगी पनि उस्तै भयाे
लाउँला खाउँला भन्ने उमेर परदेशमै गयाे ।
✍️ ताराप्रसाद चापागाईं

२)_[ टुक्का कविता ]_

गाईजात्रा चलेको छ देशमा आज यस्तरी
लाखे बनेर नाच्दैछन् वृद्धबालक बेसरी ।
✍️ रामशरण न्यौपाने
भक्तपुर

३)_[ टुक्का कविताहरू ]_
१.
परम्परामा चलेको जात्रा आजकल, नेताको नाटक भयो
चुनावका मेला मुख देखाई, पाँच वर्षलाई गायब भयो ।
२.
हरेक दिन अचेल संसदमा, चलिरहन्छ अनेक जात्रा
माननीय बुरुक्क उफ्रिने, बिग्रेमा घुसको अलिकती मात्रा ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाडौँ

४)_[ टुक्का कविता ]_

भ्रष्टाचार मेटाउने भन्दै गर्छन् जात्रा
पैसा बिना हुँदैन राजनीतिक यात्रा ।
✍️ हन्नाह छेत्री

५)_[ टुक्का कविताहरू ]_
१.
अनौठो काम, विचित्रको मात्रा
गजब लाग्छ, हेर्नलाई जात्रा ।
२.
रमाइला जात्रा, नेपाल मै देखिन्छ
भोक प्यास निन्द्रा सबथोक मेटिन्छ ।
✍️ होमप्रसाद नेउपाने
धरान, सुनसरी ।

६)_[ टुक्का कविताहरू ]_
१.
भाँडाकुटी खेल हो कि हेरुन् सधैँ भनी देखाएको गाईजात्रा
काेही धनकाे सिँढी चढेर जान खाेज्दै छाैँ स्वर्गपुरीकाे यात्रा ।
२.
देखाउँछन् एकले रमाउँछन् मुलुकै गर्छन् दर्शन नमस्कार
सम्मान सबैको गर्व देशको गाईजात्रा एक संस्कृति संस्कार ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।

७)_[ टुक्का कविता ]_

वर्षामा लामो दूरीको गरिन्न यात्रा
बरु सुनेर बसिन्छ पो गाई जात्रा ।
✍️ भगवती दवाडी
दमक

८)_[ टुक्का कविताहरू ]_
१.
हातमा हात सबैले नै बढाउँ
देशको भ्रष्टाचारहरू हटाउँ ।
२.
देशमा भ्रष्टहरूको जात्रा धेरै
जात्राधारि भन्छन् देश सबै मैरै ।
✍️ वेदु न्यौपाने

९)_[ टुक्का कविताहरू ]_
१.
गाइजात्रा भो सत्ता चुनाव नबुझेर
भोट दिने अब मौन पार्टी नढुकेर ।
२.
तय गरौँ न गन्तव्य यात्रा
बन्छ नत्र भाँडभैलो जात्रा ।
✍️ इन्दु श्रेष्ठ
चितवन

१०)_[ टुक्का कविता ]_

विशेष महत्त्व रहेको पर्व मनाउँछन् जात्रा
जीवन पनि रहेछ एक जात्रा सरह यात्रा ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ

११)_[ टुक्का कविताहरू ]_
१.
उदाङ्गो बोल्ने समय आयो सुनौ सबै जात्राको
मौका हो यो सम्मानीत व्यङ्ग्य गुरु होस् या छात्राको ।
२.
भ्रष्टाचार होइन जात्रा बर्षको हाम्रो चाड
छद्मभेषीले बगाउनेछ नेपालमा बाड ।
✍️ सरोजा बान्तवा पीयूष
गीत खोला, भारत।

१२)_[ टुक्का कविताहरू ]_
१.
हरेक पार्टीमा आजकाल सुनिन्छ भाड भैलाेकाे जात्रा
सम्बृद्ध नेपाल बनायौ भनि कसरी गर्छन् विश्व यात्रा ।
२.
बाचाउँनु छ सबैले आआफ्नो संस्कृति पुर्खाकाे नासाे
नेवारी परम्परा गाईजात्रा हेर्ने सबैको छ चासो ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।

१३)_[ टुक्का कविता ]_

देशमा देखाउँछौ पटकपटक अनेक जात्रा
यस्तै हो भने नेपाल हुनेछ अधोगतिको यात्रा ।
✍️ प्रेम थापा “मन”
बागलुङ

१४)_[ टुक्का कविताहरू ]_
१.
जात्रामा बाजा गाजासँग रङ्गीचङ्गी पार
यिनै हुन् संस्कृतिको उत्सव मुटुको हार ।
२.
देउता घुम्दा मनभरि छ उज्यालोको धार
संस्कृति नै चिनारी हो सस्कार नै उपहार ।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹

१५)_[ टुक्का कविताहरू ]_

गाईजात्रा, घोडेजात्रा, कति खर्चिला छन् जात्रा ?
गरिबले पाउँदैनन् औषधिको थोरै मात्रा !।
✍️ ललिता ‘दोषी’
बुद्धनगर, काठमाडौँ

१६)_[ टुक्का कविता ]_

खोई चारैतिर मुसलधारे झरी छ इन्द्रजीले गरे जात्रा
यहाँ जन-जीवन अस्तव्यस्त भएको छ कसरी गर्ने यात्रा ।
✍️ रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ ।

१७)_[ टुक्का कविताहरू ]_
१.
खान्छन् भ्रष्टाचारीहरू मिलाएर मात्रा
खान नपाए लडेर देखाउँछन् जात्रा ।
२.
सहज हुँदैन पछिको जीवन यात्रा
किन देखाउनु पर्यो नौटंकी र जात्रा ?।
✍️ अरुण कुमार भुजेल
गोरूबथान ।

१८)_[ टुक्का कविता ]_

मनाउँ पर्व यो गाईजात्रा खुलेर रमेर
विकृतिलाई उदाङ्गो पारौ सबैले जमेर ।
✍️ ध्रुव श्रेष्ठ
खोटाङ ।

१९)_[ टुक्का कविता ]_

चित्रमा देखिँदैन घण्टी बज्दैन बुझेर गरौँ यात्रा
जतासुकै बिजोग देखिन्छ नहोस् हाँडिगाउँको जात्रा ।
✍️ चुडामणी देबकोटा
सिन्धुली मरिणखोला जखनी
हाल थानेटार पुरानोनैकाप काठमाडौँ ।

२०)_[ टुक्का कविता ]_

गाईजात्रा हिलेजात्रा व्यङ्ग्य जात्रा कति कति
जति व्यङ्ग्य गरे पनि सप्रेन तिनका मति ।
✍️ हरिप्रसाद तिमल्सिना
त्रिपुरा सुन्दरी -४, धादिङ

२१)_[ टुक्का कविता ]_

गर्छु जब मैले यात्रा
दिनहुँ देखिन्छ जात्रा ।
✍️ नागेन्द्रप्रसाद यादव

२२)_[ टुक्का कविता ]_

दुःख पिर भूलेर मनाउँदै गाईजात्रा
देखिन्छ धेरै हस्यौली पात्र पात्राको मात्रा ।
✍️ मोती योन्जन सुब्बा
दार्जिलिङ ।

२३)_[ टुक्का कविता ]_

खाेलामा अचानक बाढी आएर बस्ती बगायाे
सुख हाेला भनेकाे जीवनभर दु:ख लगायाे ।
✍️ नवराज भट्ट
कञ्चनपुर

२४)_[ टुक्का कविताहरू ]_
१.
कहिलेकाहीँ गर्दा पनि छाेटाे मीठाे यात्रा
देखिन्छन् यहाँ थरीथरीका अनेकौँ जात्रा ।

कहिले धेरै कहिले थाेरै केवल फरक मात्रा
साँचो काम पनि झुटाे बनी भईदिन्छ यहाँ जात्रा ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा

२५)_[ टुक्का कविता ]_

जन्मदेखि मृत्यु सम्मको जीवन यात्रा
सुख खोज्दा खोज्दै बन्नेछ अनौठो जात्रा ।
✍️ बीके मुखिया,वाङदे
दार्जिलिङ, भारत ।

२६)_[ टुक्का कविताहरू ]_
१.
जात्रामा छ धनी अत्यन्त हाम्राे प्याराे देश
संसारमा कम छैन हाम्राे भाषा ओै भेष ।
२.
लथालिङ्ग छ चारैतिर हुँदैछ अधाेगति तर्फ यात्रा
बन्ला भनेकाे त झन् देखिँदैछ हर क्षेत्रमा गाईजात्रा ।
✍️ प्रमाेद नेपाल
काठमाडौँ – ५ ।

२७)_[ टुक्का कविता ]_

असजिलो भयो हजुर हाम्रो यात्रा
कहिले होला नेताको पनि जात्रा ।
✍️ निमा छिरिङ भोटिया
जलढका कालेबुङ

२८)_[ टुक्का कविताहरू ]_
१.
मनाउँ सबैले व्यङ्ग्य जात्रा रमेर
मेचीकाली एकभइ अब जमेर।
२.
सांस्कृतिक पर्व मनाइन्छ हाम्रो देशमा
वहु भाषा भाषी अनेकता अनि भेषमा ।
✍️ कला ढकाल
झापा

२९)_[ टुक्का कविता ]_

जात्रा देखाइरहेछन् अझै देशमा नेताले
कतिन्जेल भइरहौँला है तिमीहरू भाले ?।
✍️ अर्जुन प्रसाद चौलागाई
हालः अमेरिका, बोस्टन ।

३०)_[ टुक्का कविता ]_

गाईजात्रा देखाउनेको कमी छैन देशमा
कोही असल त कोही भ्रष्टाचारीको भेषमा ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा

३१)_[ टुक्का कविताहरू ]_
१.
अर्थतन्त्र सबै आज सिध्याय ती कुपात्रले
गाईजात्रा विशेष पर्व मनाऔँ की सुपात्रले ?।
२.
मनाऔँ सभ्य पाराले गाईजात्रा विशेष गरी
छर्नु पर्छ सार सन्देश साहित्य सृजना भरी ।
✍️ पदमराज न्यौपाने
रामारोशन ४ अछाम

३२)_[ टुक्का कविता ]_

दिनानुदिन देखाएर नानाथरी नौटङ्की र जात्रा
नेताले भ्रष्टाचार गरिरहेका छन् मिलाएर मात्रा l
✍️ बाबुराम गौतम
गुल्मी

३३)_[ टुक्का कविता ]_

जात्रामय भयाे हाम्रो प्याराे देश
विवाह गर्छु भन्छन् फुलेपनि केश ।
✍️ कल्पना भण्डारी
सिन्धुपाल्चोक हाल काठमाडौँ

३४)_[ टुक्का कविता ]_

आफन्त गुमाए पनि भुलेर एकछिन रमाउँ दिल खोलेर
संस्कृतिको नाममा गाईजात्रा निकाली व्यङ्ग्यको मसला मोलेर ।
✍️ रबिता महर्जन
खोकना, ललितपुर

३५)_[ टुक्का कविताहरू ]_
१.
गाई जात्राको रङ्गीन मेला
सम्झना बनोस् जीवन खेला ।
२.
गाईको मुख हेर्दा सम्झिन्छु माया
जात्रामा सबै जुट्छन् अानन्द छाया ।
✍️ एवाइ प्रभात
धनकुटा

३६)_[ टुक्का कविता ]_

नेताहरूले पटकपटक देखाए जात्रा
काँसिकाे बाटो तय गरि पठाइदिउँ यात्रा ।
✍️ रवि पाैडेल
दक्षिण भारत पाण्डेचरी

३७)_[ टुक्का कविताहरू ]_
१.
वर्षैभरि जात्रामय भएको छ देश
बहुविहे गर्छु भन्छन् फुले पनि केश ।
२.
कति भाग्यमानी हामी जताततै जात्रा
कहाॅ कस्तो देखिने हाे फरक छ मात्रा ।
✍️ घनश्याम पौडेल
पोखरा

३८)_[ टुक्का कविता ]_

सपना छ हाम्रो लक्ष्यमा पुग्ने यात्रा
राजनीति फोहोरी खेल कस्तो जात्रा ।
✍️ दीप गोले तामाङ
रौतहट

३९)_[ टुक्का कविता ]_

नेताको जात्रा हेरेर कति टाउको समाउने
जनताको पालो गाईजात्रा हेरेर रमाउने ।
✍️ भुपेन्द्र राना मगर
धादिङ

४०)_[ टुक्का कविताहरू ]_
१.
लडाइँ झगडा तेरो मेरो जताततै जात्रा
यसैगरी सिद्दिने हो हाम्रो जिन्दगीको यात्रा ।
२.
हाँसो मजाक खुलेर गर्नुपर्छ आउँदा चाड पर्व
आफ्नो धर्म रीतिरिवाज पहिचान मान्ने गरौँ गर्व ।
✍️ सबिता खड्का
कैलाली

४१)_[ टुक्का कविताहरू ]_
१.
याे देशमा भ्रष्टाचारको तालमेलकाे मिलेको छैन मात्रा
काहीँ नभएको उत्कृष्ट हाँडी गाउँमा यहाँ देखिन्छ जात्रा ।
२.
न कसैकाे पिर छ न कसैकाे डर छ नाैटङ्कीका पात्र
चप्पल छाेडेर जुत्ताको पहिरन विकास आफ्नो मात्र ।
✍️ काेपिला समिक्षा
खार्पा खाेटाङ

४२)_[ टुक्का कविताहरू ]_
१.
अनगिन्ति छन् हाम्रा मेला जात्रा पर्व
यसैमा छौं खुसी यसैमा लाग्छ गर्व ।
२.
हरेक दिनमा छ झैँ चाडपर्वको राज
हिजो थियो रक्षाबन्धन गाईजात्रा आज ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके ।

४३)_[ टुक्का कविता ]_

मनाउँदै रमाउनुपर्छ जात्रा र मेलापर्व
हाम्रो शानमान संस्कृतिमाथि गर्नुपर्छ गर्व ।
✍️ सुनगाभा पोखरेल
कपिलवस्तु

४४)_[ टुक्का कविताहरू ]_
१.
यताजात्रा उता जात्रा देशैभर जात्रा
हेर्दा हेर्दै दिक्क पारे अब पुग्यो मात्रा ।
२.
चारैतिर खोजीहेर्दा भयो जात्रैजात्राको देश
अब भने फेरिनु पर्छ आफ्नु उहिलेको भेष ।
✍️ दिलीपकुमार शर्मा कट्टेल
भद्रपुर-९, झापा

४५)_[ टुक्का कविताहरू ]_
१.
राम्रै हुन्छ मिलाउन सके मात्रा
नत्र त जीवन बन्छ गाईजात्रा ।
२.
कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्छन्
देख्दैनन् नि आफ्ना गल्ती अरूका मात्रै गन्छन् ।
✍️ कल्पना मरासिनी
भूमिकास्थान अर्घाखाँची ,हाल ललितपुर

४६)_[ टुक्का कविताहरू ]_
१.
पुर्खाले सिर्जेको कला संस्कृति जात्रा र पर्व
आजका पुस्ताका जिम्मेवारी जगेर्ना र गर्व ।
२.
बाह्रै मास जात्रा पर्व अनेक थरीका हाम्रो
दु:ख सुखमा हाँसी खुसी रमाउनु नै राम्रो ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे

४७)_[ टुक्का कविता ]_

जताततै बाढी पहिराेले गरेको छ जात्रा
तसर्थ जीवनमा कसरी गर्ने होला यात्रा ।
✍️ दुर्गा भट्टराई
मोरङ

४८)_[ टुक्का कविता ]_

धर्म संस्कृति परम्परा छन् अनेक
जात्रा पर्व नेपालीपनको छनक ।
✍️ नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३।

४९)_[ टुक्का कविताहरू ]_
१.
मुसलधारे पानीमा कसरी गर्नु यात्रा
रहन्छ कि अब भनेर पर्खिँदाको जात्रा ।
२.
गाउँ घर नमिले भाँडभैलोको जात्रा
मिलेर बस्नेको त कम्ती हुन्छ नि मात्रा ।
✍️ रमा गुरुङ्ग
सालुगडा, सिलीगुडी

५०)_[ टुक्का कविताहरू ]_

नेपाली संस्कृतिमा अनेक प्रकारका छन् जात्रा
अन्य जात्रा भन्दा मन पर्ने टुक्का साहित्य यात्रा ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

५१)_[ टुक्का कविता ]_

भनाइ र गराइकाे मिलाइ मात्रा
नेतृत्वकर्ताले नै देखाउँछन् जात्रा ।
✍️ काेपिला अधिकारी
गाेरखा

५२)_[ टुक्का कविताहरू ]_

परम्परा बोकेर हाँसो र गीत
जात्राले नै जोड्छ हाम्रो सारा मीत ।
✍️ सतीश पण्डित
भानु ६ चुँदी तनहुँ
हाल चनपा ६ मातातीर्थ।

५३)_[ टुक्का कविता ]_

जिन्दगी गन्तव्य विहीन यात्रा
बाचुन्जेल अनौठो जात्रै जात्रा ।
✍️ बेल थोकर तामाङ
मकवानपुर

५४)_[ टुक्का कविता ]_

गरिब देशमा घरदेखी देशसम्म जात्रै जात्रा सधैँभरि
झन थपियो त्यसमाथि गाइजात्रा मनाउने हो कसोगरी ?।
✍️ राजु ढकाल
मेलम्ची , सिन्धुपाल्चोक ।

५५)_[ टुक्का कविताहरू ]_
१.
देशको स्थिति नेताले गाइजात्रा बनाए
सब जन आफू ढुकुटी सोरेर रमाए ।
२.
सबै मिली यो सत्ता हटाउनु पर्छ
युवाले अब आँटेर अगाडि सर्छ ।
✍️ रश्मि रिमाल
झापा

५६)_[ टुक्का कविताहरू ]_
१.
असार लाग्छ बजेट ल्याई देखाएर जात्रा
बर्खा मास बाढी पहिरो कठिनाइको यात्रा ।
२.
जात्रा पनि थरि थरि कति हुन कति
जताततै व्याङ्ग्य हान्छन् सुध्रिँदैन मति ।
✍️ दुर्गा आचार्य
मोरङ

५७)_[ टुक्का कविता ]_

ए युवाहरू जाग न जाग पाइला अघि सार गर्नु लाै गाई जात्रा
जिन्दगीमा केही गर्नुपर्ने धेरै आज हो कि? भोलि जीवनको यात्रा ।
✍️ बिबा तामाङ
दार्जिलिङ

५८)_[ टुक्का कविता ]_

जीवनको सकिनेछ एकदिन यात्रा
घटना दुर्घटनाको प्रतिक हो जात्रा ।
✍️ कार्की डिबी माकुम
सुनवल-४

५९)_[ टुक्का कविताहरू ]_
१.
जताततै बेथिति देशमा बढेको छ त्यस्तै
देशको ढुकुटी सुक्दै जादा गाईजात्रा जस्तै ।
२.
चरमचुलीमा पुगी सक्यो घुसघोरीको मात्रा
दैनिक हाम्रो देशमा भइरहेको गाईजात्रा ।
✍️ रुना कर्माचार्य दाहाल
चितवन

६०)_[ टुक्का कविता ]_

फरक संस्कृति फरक छ यात्रा
आनन्द आउँछ हेर्दा गाईजात्रा ।
✍️ विष्णु पंगेनी(पाण्डे )
वालिङ् -स्याङ्जा

६१)_[ टुक्का कविताहरू ]_
१.
आजभोलि जताततै देख्न पाइन्छ तमासा र जात्रा
बर्खामासको समयमा ख्याल गर्नु पर्छ गर्दा यात्रा ।
२.
जातजाति अनुसार फरक फरक हुन्छन् पर्व, जात्रा
चाडबाडमा धेरै नखाऔँ, मिलाएर खानु पर्छ मात्रा ।
✍️ कृष्ण बहादुर बजगाई
भक्तपुर

६२)_[ टुक्का कविताहरू ]_
१.
सांस्कृतिक मौलिकता झल्काउने गाईजात्रा
सामाजिक विकृतिमा व्यङ्ग्य कस्दै गर्नु यात्रा ।
२.
गाईजात्रामा नाचगान गर्दै डुल्नु
दुःख पिडालाई खेल ठट्टामा भुल्नु ।
✍️ देव स्याङ्देन
कालेबुङ ।

६३)_[ टुक्का कविताहरू ]_
१.
मनाउनु पर्छ गाईजात्रा मन खोलेर
रमाइलो हुनेछ बोल्दा यो मन खोलेर ।
२.
जीवनको स्वतन्त्रतामा सबैतिर मिलाउनुपर्छ मात्रा
मनोरञ्जनको पवित्र मेल नै हो नेपालको गाईजात्रा ।
✍️ घनश्याम पन्त
हरिवन सर्लाही

६४)_[ टुक्का कविताहरू ]_
१.
ह्रस्व, दीर्घ, उकार, इकार नमिलाई मात्रा
हुन थालेको छ अचेल साहित्यमा नि जात्रा ।
२.
बाढी, पहिरो छ जताततै कठिन भो यात्रा
हाम्रो देशको राजनीतिमा सधैँ गाइजात्रा ।
✍️ साबित्री प्याकुरेल
धादिङ ।

६५)_[ टुक्का कविता ]_

के गरेर निकाल्नुपर्छ तिम्रो जात्रा
कहिले सकिन्थो र यो जीवन यात्रा ।
✍️ बिकी सुब्बा
गैरीबास/कालेबुङ्ग

६६)_[ टुक्का कविता ]_

सधैँ हतार देखिन्छ कहाँसम्म हो यात्रा
बनाई सके नेताले नेपाललाई जात्रा ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

६७)_[ टुक्का कविताहरू ]_
१.
फेरिन्न धैटाे पुरानै रहेछ
के हाल्नु पानी चुहिने भएछ ।
२.
लाठा र मुङ्ग्रा लिई ठाेक्नु पर्छ
धिमे बाजाले तब काम गर्छ ।
✍️ शालिक राम दाहाल
चा न पा ३ झाैखेल, भक्तपुर

६८)_[ टुक्का कविता ]_

मौलिक संस्कृती झल्काउने मेला, पर्व र जात्रा हाम्रा
व्यङ्ग्यले रसपान गरि मर्म दर्शाउने कति राम्रा ।
✍️ राज बहादुर बडुवाल
कनकासुन्दरी-५,जुम्ला

६९)_[ टुक्का कविता ]_

जवानीको यात्रा हो मित्र धेरै चित्र डुल्दछ
संस्कृति बिचलनले मानव मित्र भुल्दछ ।
✍️ बालकृष्ण खनाल
रिप्दिकोट-३, पाल्पा