हिजो आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्युत् प्राधिकरणले हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने जनाएको छ ।
सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको स्पष्ट पारेको हो । प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता तीन हजार ५१२ मेगावाट पुगेको छ । यसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जाबाट २५ मेगावाट, तापीयबाट ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २,१४९ मेगावाट छन् । हाल आन्तरिक उत्पादन औसतमा १,१७५ मेगावाट रहेकोमा, विद्युतको उच्च माग (पिक लोड) २,०७७ मेगावाट पुगेको छ । त्यसमा १,५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
गर्मी याम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको स्पष्ट गरेको छ । हालको मौसम (प्रि–मनसुन) का कारण कतिपय स्थानमा आँधी, हुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुन सक्ने जनाएको छ । साथै, मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतै कतै विद्युत बन्द हुने अवस्था आउन सक्नेछ, जसको सूचना अग्रिम रूपमा दिइँदै आएको छ । सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको हो ।