बनेपा, बनेपा ब्वाईज क्लब (बिबिसी) को आयोजनामा आगामी असोज ४ गतेदेखि बनेपा महोत्सव २०८१ हुने भएको छ । मेला बनेपा नगरपालिका वडा नं. ७ स्थित उग्रेश्वर मन्दिर परिसर र अगाडि रहेको खाली जग्गामा हुने छ ।
बुधबार संचारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दिईएको जानकारी अनुसार असोज ४ गते देखि १९ गतेसम्म मेला आयोजना गरिएको बनेपा ब्वाइज क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिनुभयो । काभ्रे जिल्लाको सुन्दर नगरी बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र ब्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्य राखेको छ ।

मेलामा कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल रहनेछन् । यसका साथै बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ । प्रत्येक दिन कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिनुका साथै जिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइनेछ । साथै उक्त महोत्सवमा महिला भलिबल, युथ फुटबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र धिमे बाजा प्रतियोगिता समेत संचालन गरिने आयोजक संस्थाले जनाएको छ । महोत्सवको प्रमुख सल्लाहकारमा राम राज जोशी, मूल्य संयोजकमा पारस मणि कायस्थ, सह–मूख्य संयोजकमा यश कुमार रंजितकार, प्रेस तथा मिडिया संयोजक कौशल राज खड्का, संगीत संयोजक रबिनसन श्रेष्ठ रहेका छन् । –नव क्षितिज साप्ताहिकबाट