सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका काभे्र कांग्रेसका पूर्व कोषाध्यक्ष सीबी (चन्द्रबहादुर) लामा जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रकम अपचलन गरेको आरोप सीबीमाथि लागेको थियो ।

सीबीलाई १८ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । काभ्रे तेमाल गाउँपालिका–५ घर भएका ४९ वर्षीय लामा ललितपुर बालकुमारीस्थित वेस्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए । २० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । सहकारीको रकम अपचलन गरी व्यक्तिगत घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये कान्तिपुर क्रेडिट एन्ड कोअपरेटिभले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।