बनेपा, काभ्रे उद्योग वाणिज्य संघको ४२ औँ अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् । शनिबार सम्पन्न भएको मतदानले प्रताप वैद्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उनले ४ सय ८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राजन मानन्धरले ४ सय ५७ मत पाएका थिए । अर्का अध्यक्ष पदका उम्मेदवार बसन्त नारायण भोछिभोया १ सय १७ मत पाएका छन् ।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार ६ सय ४३ मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी ग्रुवेन तौजलेले ४०२ मत प्राप्त गरे । उपाध्यक्षमा उमेश रत्न शाक्य र सुरेस भक्त भोछिभोया बिजयी भएका छन् ।

महासचिवमा ५ सय ६९ मतका साथ रजित पलाञ्चोके निर्वाचित भए भने सचिवमा कृष्णलाल श्रेष्ठ र कोषाध्यक्षमा मानकाजी प्रधान विजयी भएका छन् । त्यसैगरी मुख्य संयोजकमा विज्ञान धौगोडा, सह सचिवमा रामकुमार श्रेष्ठ , सह कोषाध्यक्षमा श्याम कुमार भालु (मुनाल) निर्वाचित भएका छन् भने सह मुख्य संयोजकमा रवि तौजले विजयी भएका छन् ।
खुल्ला सदस्यहरुमा निर्दोष पलाञ्चोके, रहदेव पोटे, रोशन खुप्पा श्रेष्ठ, सुमनचौ प्रधान, गौतम मानन्धर, सुजन मानन्धर, नरेशराज कायस्थ, रजेन्द्र पसछें, राजनबहादुर ढकाल र हरिशचन्द्र अधिकारी निर्वाचित भएका छन् । यसअघि बनेपा संयोजक पदमा लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्यमा पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, बस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एशोसिएट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भइसकेका छन् । १५ पदाधिकारी र १० खुल्ला सदस्य पदको लागि ४९ जनाको उम्मेदवारी परेको थियो ।साधारण सभाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संघीय संसदबाट पारित सरकारको नीति तथा कार्यक्रममा उद्योग, वाणिज्यसहित आर्थिक क्षेत्र ओझेलमा परेको बताएका थिए । सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि थुप्रै जटिलाहरु हुने भन्दै कार्यान्वयको लागि थुप्रै ऐन, कानून बनाउनुपर्ने बताए । नीजि क्षेत्रका मागलाई नीतिगत रुपमा सम्बोधन गरेर लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गर्ने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पूर्व उद्योग राज्यमन्त्री प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, काभ्रेका अध्यक्ष राजेन्द्र पसछें, वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य लगायतले सम्बन्धीत बिषयमा बोलेका थिए ।