काठमाडौं, हिजोदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन मै दुई सम्झौता भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो ।
सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले हस्ताक्षर गरेका हुन् । यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ । सम्झौतामा बीएलसी होल्डिङ्सका प्रवन्ध निर्देशक मेघा चौधरी र सेन्टरका सीइओ सुनिल गुप्ताले हस्ताक्षर गरे ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताए । उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए । प्रधानमन्त्रीले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’ लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको, विदेशी भाषा बोल्ने युवाको संख्या उल्लेख रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा मन पर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न समेत मद्दत पुग्ने उनको भनाई थियो ।

त्यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताए । उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरे । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका देउवाले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेश मार्फत ९ वटा कानुनमा गरिएको संशोधन कानुनी सुधारमा नेपालको प्रतिबद्धताको प्रमाण भएको बताए । लगानी सम्मेलनको छलफलमा भाग लिँदै उनले यसले कानूनी सुधारमा नेपालको दृढ प्रतिवद्धताको प्रमाण दिने बताए ।
नेपालले कानुनी र नियामकीय सुधार र प्रक्रियागत सरलीकरण मार्फत देशको व्यावसायिक वातावरण सुधार गर्न काम गरिरहेको बताउँदै विवाद समाधान गर्ने संयन्त्र पनि रहेको उल्लेख गरे । लगानी सम्मेलन अन्तर्गत ‘नेपालमा लगानीको वातावरण’ विषयक पहिलो सत्रमा उनले भने, ‘नेपाल रणनीतिक रूपमा दुई ठूला र बढ्दो अर्थतन्त्र चीन र भारतको बीचमा अवस्थित छ । यसले नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर प्रदान गरेको छ ।’
यसबाहेक प्राकृतिक सम्पदामा देश धनी रहेको बताउँदै उनले भने, ‘नेपालको आर्थिक वृद्धिका प्रमुख संवाहक ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र पूर्वाधार विकासलगायतका क्षेत्र हुन् ।“ मन्त्री पुनले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भएको बताए । उत्पादित बिजुली छिमेकी मुलुकमा निर्यात गरेर आम्दानीको प्रमुख स्रोत बन्न सक्ने उनको भनाइ थियो ।