बनेपा, जिल्लामा लामो समयदेखि पत्रकारितामा कृयाशिल सञ्चारकर्मीले नयाँ सदस्यता स्विकृत गर्न माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएका छन् । सँगै उनीहरुले जिल्लामा रहेका संघ संघठनलाई समन्वय गरिदिन आग्रह गरेका छन ।
१ बर्षअघि सदस्यता आव्हान गर्दा सबै प्रकृया पुरा गरेर आवेदन दिएका कृयाशिल सञ्चारकर्मीको हालसम्म पनि सदस्यता स्विकृत नभएको भन्दै सक्रिय पत्रकारहरुले शाखा मार्फत प्रदेश र केन्द्रीय समितिको समेत ध्यानाकर्षण गराएका हुन् ।
नयाँ सदस्यता संघर्ष समिति, काभ्रेको तर्फबाट २० जनाको हस्ताक्षरमा महासंघ अध्यक्ष बद्रिराज तिमल्सिनालाई बुझाइएको पत्रमा नयाँ सदस्यताको सवाललाई महासंघले ध्यान नदिएको, वेवास्ता गरेको आरोप लगाइएको छ । नयाँ सदस्यताको टुंगो लगाएर मात्रै महासंघको साधारणसभा लगायत अन्य गतिविधि अघि बढाउन माग गर्दै उनीहरुले त्यसो नगरिए कार्यालयमा तालाबन्दी गर्नुका साथै साधारणसभा बिथोल्नेसम्मको चेतावनी दिएका छन् ।
महासंघ अध्यक्ष बद्रिराज तिमल्सिनाले बैठक बस्न नसक्दा सदस्यताबारे निर्णय लिन नसकिएको बताएका छन । गत असोज महिना मै प्रेस चौतारी काभ्रेले कृयाशिल सञ्चारकर्मीको सदस्यता नविकरण र नयाँलाई सदस्यता प्रदानको माग गर्दै महासंघ कार्यालयमा तालाबन्दी गरेको थियो । प्रेस चौतारी काभ्रेको मागलाई महासंघले बेवास्था गर्दै आएको थियो । जिल्लाबाट बिबाद उत्पन्न गर्ने र केन्द्र प्रदेशलाई दोष देखाएर बसेको जिल्ला समितिले ७ महिनादेखि कुनै गतिबिधि गर्न सकेको छैन ।
त्यही भएर संघर्ष समितिले प्रेससँग आबद्ध संगठनहरुलाई समन्वय र सहयोगको आग्रह गरेका थिए । जिल्लामा रहेका सबै संगठनहरुले सदस्यता संघर्ष समितिले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
जिल्लामा क्रियाशील पत्रकारहरुको प्रतिनिधित्व गर्दै मानकाजी सुवाल, मणिराम दाहाल, पूजन धिताल, अरविन्द गौतम, रोशन पौडेल, रूपक घिमिरे, भक्त बहादुर दाहाल, बालकृष्ण, बजगाई, अमित न्यौपाने, हरिहर घिमिरे, पुरुषोतम नेपाल, समीर चौलागाई, कपिल दनुवार, सागर घिमिरे, दिनेश भण्डारी, ज्योती श्रेष्ठ, चित्र प्रसाद घिमिरे, विपसना शाक्य, रवि धिताल, सनम सुवाल धिताल, विमेश सापकोटा र अनिश पोखरेलसहितका पत्रकारहरुले समितिमा आबद्धता जनाई आन्दोलनमा सहभागी भएकाछन् । –नव क्षितिज साप्ताहिकबाट