बनेपा, संस्थागत विद्यालयले भर्नाका नाममा अतिरिक्त शुल्क लिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले सो रकम नलिन र लिईसकेको भए फिर्ता गर्न भनेको छ ।
विद्यार्थीहरू उत्तीर्ण भएर माथिल्लो कक्षामा जाँदा भर्ना शुल्कको नाममा कानुन विपरित अतिरिक्त शुल्क लिइएको भन्दै अनेरास्ववियु काभ्रेले बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको हो । अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन कुमार गौतमद्धारा जारी विज्ञप्तिमा कानुन विपरित मनपरी शुल्क नलिन चेतावनी दिइएको छ । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को दफा ४.२.७ मा कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा भर्ना शुल्क लिन पाइने छैन भन्ने व्यवस्था रहेको छ । साथै संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४.१ (२) मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेको छ ।
प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिन निर्देशन दिन र यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरित विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गराउन पहल गर्न सम्बन्धित निकायलाई अनेरास्ववियु काभ्रेले अपिल गरेको छ । अन्यथा विद्यार्थी हक हित रक्षाका निम्ति अनेरास्ववियु काभ्रेपलाञ्चोकले जस्तो सुकै कदम चाल्न बाध्य हुने र यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिएको छ । –नव क्षितिज साप्ताहिकबाट








