मण्डनदेउपुर, राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन ।
आईतबार मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको उदघाटन गर्दै राष्ट्रपति पौडेलले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिए । ‘कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ’ राष्ट्रपति पौडेलले भने, “स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ ।” राष्ट्रपति पौडेलको भनाई थियो ।
मण्डनदेउपुर नगरपालिका मेयर टोकबहादुर वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्री एवं संघिय सांसद गोकुल प्रसाद बाँस्कोटा, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल लगायतको आतिथ्यता रहेको थियो ।
नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा, दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला र पुरुषका लागि छुट्टै शौचालय निर्माण तथा लिफ्ट जडान गरिएको छ ।
१६ करोड १९ लाख ७९ हजारको लागतमा तयार भएको भवनको लागि संघीय समपुरकबाट १ करोड ८० लाख रुपैयाँ, जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकबाट २ करोड रुपैयाँ, संघीय अनुदान (डोलिडार) बाट २ करोड ४० लाख रुपैयाँ र बाँकी रकम नगरपालिबाट स्रोत साझेदारी गरी बजेट ब्यवस्थापन गरिएको हो ।