बनेपा, आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेपलाञ्चोक जिल्लाका पालिकाहरु कमजोर देखिएका छन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार जिल्लाका पालिकाहरु कमजोर देखिएका हुन ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो । जसमा असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार ७ मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको थियो ।
आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को १ तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने छ ।
नतिजा अनुसार काभ्रेमा १३ पालिकम मध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ । रोशी गाउँपालिकाले ४८.३९ अंक प्राप्त गरी काभ्रेकै पहिलो बनेको हो । पाँचखाल नगरपालिका दोस्रो स्थानमा परेको छ । पाँचखाल नगरपालिकाले ४१.७३ अंक प्राप्त गरेको छ । चौरीदेउराली गाउँपालिकाले ३९.५८ अंक प्राप्त गरी तेश्रो र ३७.५३ अंकका साथ धुलिखेल नगरपालिका चौथो नम्बरमा परेको छ भने १८.८२ अंकका साथ पनौती नगरपालिका अन्तिममा परेको छ ।
बनेपा नगरपालिकाले ३७.५ अंक, महाभारत गाउँपालिकाले ३४.२२ अंक, तेमाल गाउँपालिकाले २८.२४ अंक, नमोबुद्ध नगरपालिकाले २८ अंक, खानीखोला गाउँपालिकाले २६.३४ अंक, बेथानचोक गाउँपालिकाले २५.४४ अंक, मण्डनदेउपुर नगरपालिकाले २२.२८ अंक र भूम्लु गाउँपालिकाले १९.५० अंक प्राप्त गरेका छन ।