धुलिखेल, धुलिखेल नगरपालिकाको ३८ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बालक्लव सञ्जालकी दिविसा श्रेष्ठ, सिद्धार्थ बालगृहकी टुहुरी बालिका खुशी परियार, मजदुर परिवार रोजिना तामाङ, अपाङता भएकी बालिका शिरीषा तामाङ, दलित बालिका प्रशंशा विक, मगर समुदायकी बालिका अनुघा थापा मगर र नेवारी समुदायकी बालिका ऋषिमा श्रेष्ठले नगरपालिकाको स्थापना दिवस कार्यक्रमको उद्घाटन गरेका थिए ।
नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख निराजन जंगमले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, सम्मानित ब्यक्तित्व चण्डीप्रसाद श्रेष्ठ र बरिष्ठ संगितकार सुरेश अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, पुर्व उपप्रमुख विमला शर्मा, जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, धार्मिक गुरु तथा अगुवाहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरु, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
स्थापना दिवसको अवसरमा धुलिखेल सरस्वती पार्कबाट नगर भित्रका विभिन्न स्थानमा विभिन्न झाँकी सहितको ¥याली प्रर्दशन गरिएको कार्यक्रममा लाखे नाच, खैजेडी भजन ब्रम्हायणी, इन्द्रायणी रुद्रायणी नृत्य, प्रस्तुत गरिएको थियो ।
सोहि अवसरमा श्वेत भैरबको मूर्ति अनावरण गरिएको थियो । धुलिखेलको टुँडिखेल स्थित हजार सिँढी जाने मुख्य प्रवेशद्वारमा स्थापित श्वेत भैरबको मुर्ति नगरप्रमुख अशोक ब्यान्जु, उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्षहरु लगायतले अनावरण गरेका हुन ।








