बनेपा, बनेपा–८ र बनेपा–११ जोड्ने सिनागाल राधे राधे पुण्यमाता पुल निर्माण सुरु भएको छ । पुल निर्माणको हिजो काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले शिलान्यास गरका हुन । सांसद बाँस्कोटाकै नेतृत्वमा तीन वर्षदेखि पुल निर्माणको प्रक्रिया सुरु भएको थियो । तर, तीनपटकसम्म टेण्डर आह्वान गर्दासमेत कहिले टेण्डर नपर्दा र कहिले लागत अनुमान भन्दा बढी रकमको टेण्डर परेपछि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन ।
गत असोज २५ गते पुल निर्माणको योजना सम्झौता भएको थियो । चौंथोपटकमा आरसी निर्माण सेवा जडिबुटीले पुल निर्माणको ठेक्का हात पारेको हो । सम्झौताअनुसार २०८१ चैत २४ गतेसम्म पुल निर्माणको काम सम्पन्न हुनुपर्नेछ । पुलका लागि ६ करोड २९ लाख ८१ हजार७ सय ४७ रुपैयाँ २४ पैसा लागत अनुमान गरिएकोमा भ्याटसहित ५ करोड ५७ लाख ५५ हजार ८ रुपैयाँ ८९ पैसामा निर्माण कम्पनीसँग सम्झौता भएको छ । २० मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाईको उक्त पुल निर्माणपछि बनेपा ११ सिनागालका स्थानीयबासीलाई बनेपा बजारसम्म आवतजावतका लागि सहज हुनेछ । पुल शिलान्यास कार्यक्रममा बोल्दै सांसद बाँस्कोटाले विकासको काममा आफूले राजनीति नगर्ने भन्दै आफूले बोलेअनुसार विकास निर्माणका कामहरु धमाधम भइरहेको बताए ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरन्त शाक्यले सबैले हातेमालो गर्दै अघि बढ्न सके बनेपाको विकास थप अघि बढ्ने बताए ।