बनेपा, शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।
भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पका कारण जिल्लाभर ३ हजार ६ सय ५० घरमा क्षति पुगेको हो । त्यसमध्ये ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने २ हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको छ ।

सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुग्दा छेडागाड नगरपालिकामा एक सय घरमा क्षति पुगेको छ । त्यस्तै, कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण जाजरकोटमा मात्रै १ सय ५ जनाको मृत्यु भएको छ । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् ।

नलगाड नगरपालिकाका मात्रै ५५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका३८, छेडागाड नगरपालिकाका १, कुशे गाउँपालिकाका ७ र बारेकोट गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, प्युठान लगायतका जिल्लाका घरमा क्षति गरेको छ । उक्त क्षेत्रमा अहिले साथ र सहयोगको आवश्यक रहेको छ । तसर्थ सबैले सक्दो सहयो गरौं ।