जिल्ला सहकारी संघ लि. काभ्रेले आफ्नो ४२ औं बार्षिक साधारण सभामा विभिन्न विधामा सम्मान कार्यक्रम गरेको छ । भाद्र २६ गते भएको एक समारोहमा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको शभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रि, माननीय पुकार महर्जनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला सहकारी संघ लि.ले आफ्नो पुरस्कार तथा सम्मान कार्यविधि बनाएर उक्त कार्यविधि अनुरुप जिल्ला भित्र रहि विभिन्न ४ विधामा कार्यरत सहकारी अभियन्ता, उत्कृष्ट संस्था, कर्मचारी, तथा पत्रकारलाई सम्मान गरेको छ । कार्यविधि अनुरुप सबै विधाका क्षेत्रहरुका फरक फरक अनुसूचिमा फरम भरी संघले गरेको सूचना प्रकाशनका आधारमा निश्चित समय भित्र निवेदन पेश गर्नुपर्ने र उक्त प्राप्त निवेदनलाई संघले निर्माण गरेको छनौट उप समितिले पेश गरेका कागजातका आधारमा सञ्चालक समितिलाई सिफरिस गरी पुरस्कार तथा सम्मानको तय गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी, बिशिष्ट अतिथीहरु राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष मिनराज कँडेल, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम र संघका अध्यक्ष दिलिप शर्माले संयूक्त रुपमा रु. ५,०००। सहित दोसल्ला, सम्मान पत्र र टिकाद्धारा सम्मान गरिएको हो । सहकारी अभियन्ता सम्मानमा संघ लि का पूर्व अध्यक्ष माधवनारायण जोशी, उत्कृट संस्था सामूदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती, उत्कृष्ट कर्मचारी ज्योती मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौतीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, उत्कृष्ट पत्रकार नवक्षितिज साप्ताहिक तथा काभ्रेप्रेसका अरबिन्द्र गौतमलाई सम्मान गरिएको हो ।

यसै अवसरमा जिल्ला सहकारी संघ लि. ले सहकारी अभियानलाई नियमन र अनुगमनका क्षेत्रमा स्थानीय सरकार बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्य मार्फत र काभ्रे जिल्लामा रहेर सहकारी क्षेत्रमा विद्यावारिधी हासिल गरी नेफ्सकुनमा पुनः प्रमुख कार्यकारी नियूक्ति हुनु भएको अवसरमा काभ्रेजिल्ला बासी डा. शिवजी सापकोटालाई सम्मान गरिएको हो । कार्यक्रममा स्वागत मन्तब्य संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठ र कार्यक्रम सञ्चालन संघका सचिव निरन्जन बिष्टले गर्नु भएको थियो ।