धुलिखेल, नेकपा एमाले काभ्रेले दशौँ जिल्ला अधिवेशन पछिको पहिलो प्रतिनिधि परिषद् बैठक १० बुदे धुलिखेल घोषणा पत्र पारित गर्दै शनिबार धुलिखेलमा सम्पन्न गरेको छ ।
पार्टी उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलको प्रमुख आतित्यता र जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा भएको बैठकमा १ सय ३५ वटा वडा, १३ वटा पालिका कमिटी, जनवर्गिय संगठन तथा जिल्ला कमिटी र आमन्त्रित सहित १ हजार ४ सय ५६ प्रतिनिधिहरु सहभागी थिए । जिल्लामै पहिलो र ऐतिहासिक रुपमा अधिवेशन आयोजना गरेको एमालेले त्यस पछि भएका समग्र कामको समिक्षा र आगामी योजनाका सन्दर्भमा छलफल गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकार राष्ट्र र जनताको हित र उन्नति तथा प्रगति विरुद्ध भएको बताउनु भयो । भारत भ्रमणमा दृश्य अदृश्य सहमति गरेर फर्किनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका जिल्ला राखेर प्रकाशन गरिएको नक्साका बारेमा चुँ समेत गर्न सक्नु भएन । अझै नेपालको जमिन सट्टापट्टा गर्न सकिने घोषणा गर्नु भयो । गठबन्धन सरकारले विकास, सुशासन र प्रगति उन्मुख नागरिकहरुलाई गराउन नसक्ने बताउँदै एमाले नेतृत्वको सरकारले जस्तो दूरदर्शी काम गर्न नसक्ने पौडेलले बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, नेकपा एमालेका पोलिटब्युरो सदस्यद्धय गोकुल बास्कोटा र कृष्ण राई, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पदाधिकारीहरु तथा अन्य प्रतिनिधिहरुले एमालेले विगतका कामको समीक्षा गर्दै आगामी योजनाका बारेमा शशक्त गतिविधिहरु संचालन गर्नु पर्ने बताएका थिए ।
परिषद्मा एमाले काभ्रेले अधिवेशन पछि गरेका गतिविधिहरु, पार्टीको सगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । नेकपा एमाले काभ्रेले परिषद्को अवसर पारी पार्टीका शहिद परिवारका सदस्य र जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, जेष्ठ सदस्यहरु बेथानचोकका गंगाप्रसाद सापकोटा, मण्डनदेउपुरका घननाथ तिवारी, बनेपाका सानुभाई विष्ट, पाँचखालका बलराम खड्का, पनौतीका सत्यनारायण कर्माचार्य, भुम्लुका मिनबहादुर खत्री, तेमालका केशव कोईराला, खानीखोलाका दलसुर मोक्तान, धुलिखेलका रामबहादुर थापा, रोशीका जयमान लामा, नमोबुद्धका एककुमारी भुर्तेल, महाभारतका सुरथ सिं लामा र चौरीदेउरालीका सानु जितबहादुर गौतमलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने शहिद परिवार सदस्य बलराम सापकोटा पत्नी सरिता सापकोटा, कृष्णप्रसाद सापकोटाकी पत्नी मिना सापकोटा, सिंहवीर तामाङका छोरा विरेन्द्रविर थिङ्ग र श्रीहरी कुँवरका परिवारका सदस्यलाई सम्मान गरिएको थियो । –नव क्षितिज साप्ताहिकबाट








