यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई बुधबार गृह मन्त्रालयले एक परिपत्र गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही दिन अगाडि गरेको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाही गर्न परिपत्र जारी गरेको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पु¥याउने गरी निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो । त्यही पत्र अनुसार गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो परिपत्र जारी गरिएको गृहले जनाएको छ ।
महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले ऐनमा भएको कुरा विपरित निजी प्रयोजनका लागि लिएको सवारीले मानिस बोक्न थालेको र यसले सार्वजनिक यातायात व्यवसायी मारमा परेको बताए। ऐनमा भनिए अनुसार निजी सवारीसाधानहरुले भाडा लिएर यात्रु बोक्न नमिल्ने व्यवस्था रहेको स्वाँरले बताए । ऐनमा भएको व्यवस्था अनुसार निजी सवारीले यो निर्देशन पालना गर्नुपर्ने बताए । यसरी गरिएको उक्त निर्देशनले अब भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्नेछन् ।
साथै, यसरी निजी सवारीलाई प्रयोग गरेर राइड सेयरिङ संचालन गर्ने पठाओ जस्ता राइड सेयरिङ एपहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । राइड सेयरिङ एपहरु नेपालमा सुरु हुनु अगाडि निजी सवारीले भाडामा मानिस बोक्ने गरिएको थिएन । पछिल्लो समय राइड सेयरिङको मद्दत बिनै अफलाइनमै यस्तो सेवा लिने÷दिनेहरु बढेका घटनाहरु आएका छन् । यसले गम्भिर रुपमा सार्वजनिक यातायात व्यवसायीहरुलाई असर गरेको र यात्रुहरुको जीवन समेत सुरक्षित नभएको महासंघले जनाएको छ । यो नियम अनुसार अबदेखि रातो नम्बर प्लेट भएका कुनै पनि चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनले भाडा लिएर यात्रु बोक्न वा प्रयोग गर्न पाइने छैन । –नव क्षितिज साप्ताहिकबाट








