बनेपा, सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना अन्तर्गतको दोस्रो खण्ड सूर्यविनायक–साँगाको ठेक्का लागेको छ। आयोजनाले गत कात्तिकमा यस खण्डको सडक विस्तार गर्न ठेक्का आह्वान गरेसँगै सूर्यविनायक–धुलिखेल सडक विस्तारको प्रस्तावित योजनाले छिटै गति लिने भएको छ।
यो खण्ड विस्तार गर्न ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँमा लाग्ने भएको छ। यसका लागि जेभीका रुपमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले ठेक्का पाएको हो।यस ठेक्कामा ३ वटा जेभीसहितका निर्माण कम्पनीहरु प्राविधिक रुपमा पास भएका थिए। जसमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभी, स्वछन्द, एपेक्स, शक्ति जेभी र कालिका कन्स्ट्रक्स आर्थिक प्रस्ताव पेस गर्न सक्षम भएका थिए। यसमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले सबैभन्दा कम कबोल गरेकाले ठेक्का पाएको हो ।
यो आयोजनाको पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार गर्न ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा यसअघि नै ठेक्का लागिसकेको छ। यसको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको हो। अहिले उक्त ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ। अब ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनु पर्नेछ।यस्तै पुल निर्माणको लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ। यसका लागि डीपीआरमा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत अनुमान गरिएको छ।
यो आयोजनामा २०÷२० मिटरको तीनवटा पुल बन्ने छ । डीपीआर अनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ। यसमा सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको छ।आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ।गाडी चल्ने मुख्य ४ लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण हुन्छ। साथै बीचमा ३ मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइन छ। ६ लेन विस्तार गर्ने योजना बनेको भए पनि वर्षौदेखि काम हुन सकेको छैन। तत्कालै के गर्न सकिन्छ भन्ने विषयमा बसेको सडक विभागको बैठकले हालको सडकलाई स्तरोन्नति गरेर चार लेनको बनाउदा उपयुक्त हुने निष्कर्ष निकालेपछि प्रक्रिया अघि बढेको हो । –नव क्षितिज साप्ताहिकबाट








