बनेपा, प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।बिहीबार आयोजित काठमाडौँ विश्वविद्यालयको पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउँदै आएको बताए।
नेपालको उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आउनु सबैका लागि गर्वको विषय भएको बताए । प्रधानमन्त्री देउवाले काठमाडौँ विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई दिदैं भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा भएको पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानून, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी एक हजार छ सय ६ जनासहित एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएकाहुन ।
विश्वविद्यालयका अनुसार मानविकीका दुई सय २०, शिक्षाका दुई सय दुई, इञ्जिनियरिङका २६, कानूनका ४० जना, व्यवस्थापनका चार सय ५२, स्वास्थ्य विज्ञानका सात सय १२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुने विद्यार्थीमध्ये सात सय ३४ जना पुरुष र नौ सय ६५ जना महिला छन् ।दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिङ्गापुर, स्पेन, श्रीलङ्गा, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका एक सय ८६ जना विदेशी विद्यार्थी समेत रहेको विश्वविद्यालयले जनाएको छ । –नव क्षितिज साप्ताहिकबाट








