बनेपा, काठमाडौं उपत्यका, काभ्रेसहित देशभर चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ ।

महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई÷मधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्न थालेको छ । हुस्सु र कुहिरो मध्याह्नसम्ममा भने क्रमिक रुपमा हट्दै जाने गरेको महाशाखाले जनाएको छ ।

 

हुस्स–कुहिरोसँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ । गत चौबिस घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ ।

हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । त्यसैले देशभरको मौसम सामान्यतया सफा छ । आइतबार र सोमबार देशभरको मौसम सफा रहने छ । मंगलबार भने प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।