नेपाली हास्य ब्यङ्ग साहित्यका एक धरोहर बरिष्ठ हास्य ब्यङ्ग निबन्धकार श्याम गोतामे र वहाँ कि धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको “पद्मा– श्याम गोतामे पुरस्कार“ बरिष्ठ हास्य ब्यङ्ग लेखक, निबन्धकार तथा बहु आयामिक ब्यक्तित्व राम कुमार पाँडेलाई प्रदान गरिएको छ ।
नगद एक्काईस हजार पुरस्कार राशी रहेको उक्त पुरस्कार पहिलो पटक हास्य ब्यङ्ग लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रस्टा समाजले बुधबार एक बिशेष कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार प्रदान गरेको हो ! समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा गोतामे पत्नि पद्मा गौतम प्रमुख अतिथि रहनु भएको थियो । सम्मानित ब्यक्तित्व हास्य ब्यङ्ग निबन्धकार राम कुमार पाँडे, बरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकारहरु बिधान आचार्य, श्रीओम श्रेष्ठ “रोदन“ राधेश्याम लेकाली, धिरेन्द्र प्रेमर्षी, देविका तिमल्सिना, गोतामेकि सुपुत्रि निरा गौतमले मूर्धन्य हास्य ब्यङ्ग निबन्धकार श्याम गोतामेको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । नगद रु एक्काईस हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर प्रमुख अतिथि पद्मा गौतमले हास्य ब्यङ्गकार राम कुमार पाँडेलाई सम्मान गर्नु भयो । कार्यक्रममा अभियान साहित्य कलाकार समाजका सँरक्षक, हास्य ब्यङ्ग लेखक तथा कलाकार डम्बर घिमिरे, साहित्यकार पशुपति दँगाल, लगायतका स्रस्टाहरुको उपस्थिति रहेको थियो । सम्मानित बहु आयामिक ब्यक्तित्व पाँडेले श्याम गोतामे खरो स्वभाबको, निडर तिखो ब्यङ्ग गर्ने र आफ्नै बुबालाई समेत भ्रष्टचारको मुद्दा हाल्ने एक अनौठो ब्यक्तित्व भएको स्मरण गर्नु भयो त्यस्तै नाट्यकर्मी अशेष मल्लले पद्मा – श्याम गोतामे पुरस्कार पाउने राम कुमार पाँडे सहि ब्यक्तित्व हुनु भएको भन्दै पाँडेको प्रशंसा गर्नु भयो । गोतामेकि पुत्रि रेनु गौतमले बुबाको नाममा पुरस्कार स्थापना गरेपछि बुबाको आत्माले पनि शान्ति पायो होला भन्दै बुबाले हास्य ब्यङ्गमा दिएको योगदान बिर्सने नहुने बताउनु भयो । कार्यक्रमको अन्त्यमा सभापतिले यस्तो मुर्धन्य स्रस्टाको नाममा स्थापना भएको पुस्कार कार्यक्रम गर्न पाउँदा नेपाल स्रस्टा समाज पुलकित भएको र हरेक बर्ष हास्य ब्यङ्ग कलाकारलाई पद्मा श्याम गोतामे पुरस्कार प्रदान गरिने जानकारि गराउनु भयो । –घनश्याम गौतमबाट








