बनेपा, प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । देशभर जस्तै काभ्रेमा पनि एमाले नै पहिलो दल बनेको छ ।
१०४२०१२५ को मत परिणाम अनुसार एमालेले देशभर बाट २७ लाख ८८ हजार ३ सय ५६ मत प्राप्त गरेको छ । भने काभ्रेमा ५८ हजार ७ सय ८४ मत ल्याएर समानुपातिक तर्फ एमाले पहिलो दल बनेको छ ।
यस्तैगरी नेपाली कांग्रेसले देशभरबाट २६ लाख ६० हजार २ सय ४६ मत ल्याएको छ भने ११ लाख ६२ हजार १ सय २४ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३ मत ल्याएर चौथो स्थान कायम राख्दा नेकपा एकीकृत समाजवादी भने अहिले पनि राष्ट्रिय पार्टी बन्न संघर्षरत छ । समाजवादीले २ लाख ९४ हजार ३ सय ६२ मत ल्याएको छ । राष्ट्रिय पार्टी हुनका लागि सदर मतको ३ प्रतिशत कटाउनुपर्ने हुन्छ ।
अहिलेसम्मको मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
काभ्रेमा भने एमालेले ५८ हजार ७ सय ८४ मत ल्याउदा नेपाली काँग्रेसले ४८ हजार ३ सय ११ ल्याएर दोश्रो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २६ हजार ३ सय १८ मत ल्याएर तेश्रो दल बनेको छ । चौथोमा माओवादी केन्द्रले २५ हजार २ सय ६१ मत प्राप्त गरेको छ । पाँचौमा नेकपा समाजवादीले ८ हजार ९८ मत प्राप्त गरेको छ । छैटौ नम्वरमा राप्रपाले ६ हजार २ सय २१ मत प्राप्त गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मतगणनाको परिणाम अनुसार एमाले लोकप्रिय मतका साथ पहिलो पार्टी भएको छ । प्राविधिक रुपमा सत्ता गठबन्धन बनेका कारण प्रत्यक्षमा भने एमाले दोश्रो दल बनेको छ ।–नव क्षितिज साप्ताहिकबाट








