बनेपा, काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा फराकिलो मतान्तरले विजयी भएपछि सत्यको जित भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि बाँस्कोटाले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् ।
ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएका छन–बाँस्कोटाले भने ।
काभ्रे २ मा एमालेका उम्मेदवार बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईले ३९ हजार ४ सय ८२ मत प्राप्त गर्नुभएको छ । ५ हजार ८ सय ६३ मतको अन्तरले बाँस्कोटा विजयी हुनुभएको हो । –नव क्षितिज साप्ताहिकबाट








