बनेपा, आज संविधान दिवस देशभर बिविध कार्यक्रम गरी मनाइदै छ । सरकारले हिजो आज र भोली यो दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।
संविधान देशको मूल कानुन हो, नियम हो । राष्ट्रको मार्गचित्र र नागरिक अधिकारको वडापत्र पनि हो । जुन लिखित दस्तावेजले देश कसरी सञ्चालन गर्नुपर्छ भन्ने सैद्धान्तिक एवं व्यावहारिक निश्चितता प्रदान गर्दछ । राज्यशक्तिको बाँडफाँट र नागरिक अधिकारको संरक्षणको प्रत्याभूति दिने गर्दछ । नेपाली जनताले आफूले चुनेका जनप्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहानाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । त्यहि सम्झनामा प्रत्येक असोज ३ गते राष्ट्रिय रुपमा संविधान दिवस मनाउने गरिन्छ ।
नेपालीको लामो संघर्ष, वलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको थियो । संविधान जारी भएपछि दुई पटक स्थानिय तहको निर्वाचन, एक पटक प्रादेशिक र संघीय निर्वाचन भएर देश संघियतामा गएको पनि धेरै भैसकेको छ । संगै आगामी मंसिर ४ गते दोश्रो पटक प्रादेशिक र संघीय निर्वाचन हुदै छ र संविधानको मुल मर्म शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण हो ।
सुखी नेपाली, समृद्ध नेपाल संविधानको मुल मर्म हो तर यो वा त्यो नाममा संविधानका कैयौँ मर्महरु मरेका छन, मिचिएका छन यो पक्कै पनि राम्रो होईन । संविधान आम जनताले व्यवहारमा अनुभूत गर्न पाउनु पर्छ । संविधानले धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै सबै तह, तप्का, वर्ग, क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ । सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गरेको छ । तसर्थ कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवर्दधनमा सरकार केन्द्रित रहोस । समृद्ध नेपाल, राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम रहोस संविधान दिवसको शुभकामना । –नव क्षितिज साप्ताहिकबाट