आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता सूचीमा नाम दर्ता भएका निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।
आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो ।
आसन्न निर्वाचनमा करिब एक लाख त्यस्ता मतदाताले मतदान गर्न पाउने आयोगको अनुमान छ । निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनसम्म १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ ।
गत वैशाख २९ गतेसम्म ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एकसय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।
आगामी भदौ १२ देखि १९ गतेसम्म निर्वाचन कार्यालयमा पुगी मतदाता नामावली अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारको सदस्यको मृत्यु भएमा हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न सकिनेछ ।
काभ्रेका कहाँ कहाँ फेरिए मतदान केन्द्र ?
आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रेका १७ मतदान केन्द्र परिवर्तन भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार जिल्ला मतदान केन्द्र निर्धारण समितिको बैठकबाट मतदान केन्द्र परिवर्तन गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी उमेश राइका अनुसार खानीखोला गाउँपालिका–२ स्थित फलामेटारमा रहेको साविक गाविस भवन मतदान केन्द्र बालविकास माध्यमिक विद्यालयमा सारिएको छ । यस्तै तेमाल गाउँपालिका–९ मा रहेको कुशेश्वर मावि मेच्छे पौवाको मतदान केन्द्र वडा कार्यालय मैनाजाङमा सारिएको छ । नमोबुद्ध–२ को जनकल्याण मावि बुच्चाकोटको केन्द्र वडा कार्यालयमा, नमोबुद्ध नपा वडा नं ३ को कालिका आधारभूत विद्यालय भेँडाबारीबाट वडा कार्यालयमा सारिएको छ । त्यस्तै वडा नं ६ को कालिगङ्गा आधारभूत विद्यालय चरङ्गेफेदीबाट वडा कार्यालयमा सारिएको छ । नमोबुद्ध–९ को बागदेवी आधारभूत विद्यालय बाग्माराबाट नेपाने बुद्धपार्कमा मतदान केन्द्र सारिएको छ भने वडा नं १० को च्यामथुम्का पाटीबाट पञ्चकन्या माविमा सारिएको छ ।
त्यस्तै पनौती नपा–२ को वडा भवन कुशादेवीबाट कुशादेवी माविमा सारिएको छ । पनौतीकै वडा नं २ को ३ नं वडा कार्यालय नयाँपुलबाट विहावार आवासीय माविमा केन्द्र सारिएको छ भने ६ नं को वडा कार्यालय दलिञ्चोकबाट स्थानीय गोरखनाथ आधारभूत विद्यालयमा केन्द्र सारिएको छ ।
पाँचखाल नपा–३ समाजकल्याण प्रावि तामाघाटबाट दुग्धेश्वरी माविमा सारिएको कार्यालयले जनाएको छ । महाभारत गाउँपालिका–५ को तत्कालीन गाविस भवन बुढाखानीबाट ग्रामोन्नती मावि चार किल्लामा केन्द्र सारिएको हो । वडा नं ६ को गाविस भवन बनखुचौरबाट आजाद माविमा सारिएको छ ।
त्यस्तै रोशी गाउँपालिका–५ को गाविस भवन लुरपुङ्गडाँडाबाट भूमिस्थान माविमा केन्द्र सारिएको हो । बनेपा नपा–१२ का दुवै केन्द्र सारिएको छ । वडा कार्यालय देउरालीबाट गणेशभारती माविको नयाँ भवनमा केन्द्र सारिएको हो भने गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालय देउरालीमा सारिएको छ । परिवर्तन हुने मतदान केन्द्रका सबै मतदाताको नामावलीसमेत सारिएको कार्यालय प्रमुख राईले बताए । जिल्लामा स्थानीय तह निर्वाचनमा तीन लाख तीन हजार पाँच सय ६० मतदाता रहेकामा आगामी आम निर्वाचनमा आठ हजारभन्दा बढी मतदाता थपिने कार्यालयले जनाएको छ । –नव क्षितिज साप्ताहिकबाट








