‘मण्डनदेउपुर नगरपालिका’ नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित राज्यको पुनरसंरचनासंगै बनेको पछिल्लो नगरपालिका हो । नेपालको राजधानी काठमाडौंबाट उत्तर–पूर्वमा ५५ कि.मि. दुरीमा रहेको यस नगरपालिकाको क्षेत्रफल ८९ वर्ग कि.मि. रहेको छ । यस नगरपालिका साविक बालुवापाटी देउपुर, गैरीवीसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दि मण्डन (१–४,६) गा.वि.स. गरी सात गा.वि.स. मिलेर वि.सं. २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशनपछि अस्तित्वमा आएको हो । यस नगरपालिकाको पूर्वमा भम्लु गाउँपालिका, पश्चिममा भक्तपुर र काठमाडौं, उत्तरमा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा बनेपा र पाँचखाल नगरपालिका रहेको छ । मध्यम पहाडी हावापानी भएको यस नगरपालिकालाई विभिन्न १२ वटा वडामा विभाजन गरिएको छ । यहाँको कुल जनसंख्या ३०,३८१ रहेको छ । जसमा पु्रुष १४,८५३ र महिला १५,५२८ रहेका छन् साथै लैङ्गिक अनुपात ९५.६५ र जनघनत्व ३४१ प्रति वर्ग कि.मी. रहेको छ ।
यस नगरपालिकामा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई र पर्यटन व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् । सम्भावना र चुनौती दुबै खेपिरहेको मण्डनदेउपुर काभ्रे जिल्लाकै सबैभन्दा कान्छो नवगठित नगरपालिका भएकोले यसलाई एक सक्षम नगरपालिकाको रुपमा स्थापना गर्ने चुनौति समग्र नगरवासी तथा सरकारी र गैरसरकारी निकायहरुको काँधमा आई परेको छ । यहाँ भएका चुनौती र सम्भावनाहरुलाई अवसरको रुपमा परिणत गर्न र यहाँ रहेका समस्याहरुको न्यूनीकरण गर्ने क्रममा योजनावद्ध तवरबाट लाग्नु पर्ने आवश्यकता छ ।
नगरपालिकाको सर्वाङ्गिण विकासको लागि शिक्षा र यसको महत्वलाई प्राथमिकतामा राखिनु पर्दछ । जबसम्म शिक्षामा खेलासी गरिन्छ तबसम्म विकासको कल्पना गर्न सकिंदैन । शिक्षकको मन दुखाएर, शिक्षकलाई दुःख कष्ट दिएर, अनावश्यक शरुवा र जबर्जस्ती राजनीतिक भर्ती गराएर शिक्षामा सुधार ल्याउन सकिंदैन । त्यसको लागि नगरपालिकाका प्रमुख उप–प्रमुख देखि जिम्मेवारहरु थप जिम्मेवार बन्न सक्नु पर्दछ ।
मण्डनदेउपुरको सन्दर्भमा शैक्षिक हिसाबले केन्द्रित हुनु पर्दा यहाँ बाल विकास केन्द्र, प्राथमिक÷आधारभूत र माध्यमिक गरी सहित ४४ सामुदायिक विद्यालय तथा ६ ओटा संस्थागत विद्यालयहरु गरी जम्मा ५० विद्यालयहरु शिक्षण क्षेत्रमा क्रियाशिल रहँदै आएका छ । यसरी हेर्दा माध्यमिक तहको शिक्षा प्रदान गर्ने सन्र्भमामात्र केन्द्रित हुने हो भने वडा नं. १ मा महाकाली मा.वि., २ मा वालुवा मा.वि., ३ मा द्वारापालेश्वर मा.वि., ४ मा महाकाली मा.वि., ५ मा तपेश्वर मा.वि., ६ मा ब्रम्हयणी मा.वि., ७ मा लिटिल स्टार र मण्डनभ्याली, ८ र ९ मा डेडीथुम्का मा.वि., १० मा उमा सह शिक्षालय र विन्धवासिनी मा.वि., ११ मा चण्डेनी मा.वि. र वडा नं. १२ मा बागदेवी र इन्द्रावती मा.वि.हरु माध्यमिक तहको शिक्षण सेवामा क्रियाशिल रहेको पाउन सकिन्छ ।
यसरी हेर्दा मण्डनदेउपुरमा ४४ ओटा सामुदायि र ६ ओटा संस्थागत विद्यालयहरुको विद्यार्थीको तथ्यांक राम्ररी नियाल्ने हो भने ४४ ओटा र जम्मा ६ ओटामा विद्यार्थी संख्याको ठूलो अन्तर छैन । १ दर्जनभन्दा वढी सामुदायिक माध्यमिक तहहरुमा थुप्रै शिक्षक कर्मचारी कार्यरत रहेकाछन् । एउटै डाँडामा २ ओटादेखि ३ ओटासम्म माध्यमिक तहका विद्यालयहरु छन् । एउटा माध्यमिक तहको विद्यालयको कक्षा ९ र १० मा मुस्किलले ३०–४० विद्यार्थीहरु अध्ययनरत देख्न सकिन्छ । त्यो बजेटिङ र खर्चको हिसाबले ठूलो घाटाको विषय हो । नगरकोट–नयाँगाउँ ढाइटारसम्मको सिंगो डाँडामा एउटा मा.वि., देउपुरको डाँडाभरी एउटा मा.वि., चण्डेनीको डाँडाभरी एउटा मा.वि. र कुन्तावेसी लगायतको वेसी भेगमा एउटा माध्यमिक तहको विद्यालयको अवधारणा ल्याउने र स्कूल बसको व्यवस्था गर्ने हो भने जम्माजम्मी ५÷७ ओटा माध्यमिक तहको विद्यालय काफी देखिन्छ । त्यसो गर्न सके मण्डनदेउपुरको शैक्षिक सुधार त हुन्छ, हुन्छ, त्यतिमात्र नभएर आर्थिक हिसबाले समेत ठूलो उद्देश्य हासिल हुन सक्छ ।
त्यसको लागि विद्यालयहरु थोरै र राम्रो हुनु प¥यो । ऐलेको अवस्थामा मण्डनदेउपुरको बिचोबिच भागमा पर्ने गरी जम्माजम्मी एउटा +२ तहको विद्यालय, एउटा प्राविधिक शिक्षा सहितको राम्रो क्याम्पस र वेसीमा १÷२ र डाडाँमा ३ ओटाजति माध्यमिक तहका विद्यालय भए पुग्ने देखिन्छ ।
यसको सट्टा कुन्तावेसीबाट उल्टो बाटो गुड्ने गरी स्कूल बसको अवधारणा ल्याएर कतै पुग्न सकिंदैन । कोहि कसैको एउटा निश्चित खालको उद्देश्य सहितको अभिष्टा त पूरा हुन सक्ला तर त्यसले शिक्षामा कुनै परिवर्तन ल्याउन सक्दैन । शिक्षामा परिवर्तन ल्याउने हो भने सामुदायिक र संस्थागत विद्यालयहरुको पठन पाठनको गुणस्तरमा प्रतिस्पर्धा गराउन सक्नु पर्छ ! न कि संस्थागतको नाममा राम्रो गरिरहेकाहरु माथीको नजानिंदो खालको दमन र निषेश !