२१औँ शताब्दीलाई सूचना प्रविधिको युग भनिन्छ । विश्वका विकसित राष्ट्रहरूले सूचना प्रविधिलाई आर्थिक विकास, सुशासन, शिक्षा, स्वास्थ्य, उद्योग र रोजगारी सिर्जनाको प्रमुख आधार बनाएका छन्। नेपालले पनि डिजिटल नेपाल निर्माणको लक्ष्य लिएको छ । अनलाइन सरकारी सेवा, डिजिटल भुक्तानी, ई–शासन, टेलिमेडिसिन, अनलाइन शिक्षा र कृत्रिम बुद्धिमत्ता AI को प्रयोग विस्तार हुँदै गएको छ । तर डिजिटल नेपालको सपना केवल सफ्टवेयर वा इन्टरनेटको उपलब्धताले मात्र पूरा हुँदैन । यसको मूल आधार भनेको बलियो, सुरक्षित र गुणस्तरीय क्ष्त् हार्डवेयर हो ।
IT हार्डवेयर भन्नाले कम्प्युटर, ल्यापटप, सर्भर, नेटवर्किङ उपकरण, राउटर, स्विच, स्टोरेज, ग्एक्, सुरक्षा प्रणाली तथा अन्य भौतिक प्रविधि उपकरणहरूलाई जनाइन्छ। यी उपकरणहरू बिना कुनै पनि डिजिटल सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन। सफ्टवेयर जति उत्कृष्ट भए पनि हार्डवेयर कमजोर भए सेवा अवरुद्ध हुने, डाटा हराउने वा प्रणाली असुरक्षित हुने जोखिम बढ्छ ।
नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गए पनि धेरै सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्थानीय तहमा प्रयोग भइरहेका उपकरण पुराना, मर्मतविहीन वा कम क्षमताका छन्। यसले सेवा प्रवाहमा ढिलाइ, बारम्बार प्रणाली बिग्रिने समस्या र नागरिकले गुणस्तरीय सेवा नपाउने अवस्था सिर्जना गरेको छ। सूचना प्रविधिमा गरिने लगानीलाई खर्च होइन, दीर्घकालीन विकासको आधारका रूपमा हेर्न आवश्यक छ ।
अर्कोतर्फ, साइबर अपराध विश्वव्यापी चुनौती बनेको छ । सरकारी डाटा, बैंकिङ प्रणाली, निजी सूचना र व्यापारिक तथ्याङ्क सुरक्षित राख्न आधुनिक हार्डवेयर, सुरक्षित नेटवर्क, नियमित मर्मतसम्भार र दक्ष प्राविधिक जनशक्तिको आवश्यकता हुन्छ । साइबर सुरक्षा केवल सफ्टवेयरले मात्र सुनिश्चित गर्न सक्दैन, सुरक्षित हार्डवेयर र पूर्वाधार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
नेपालका युवाहरूमा सूचना प्रविधिप्रति आकर्षण बढ्दो छ । हजारौँ युवाले कम्प्युटर हार्डवेयर, नेटवर्किङ, साइबर सुरक्षा र सफ्टवेयर विकासमा अध्ययन तथा तालिम लिइरहेका छन् । तर पर्याप्त रोजगारी, अनुसन्धान र उत्पादनमूलक अवसरको अभावले धेरै दक्ष जनशक्ति विदेशिन बाध्य भएका छन् । यदि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी IT उद्योग, डाटा सेन्टर, हार्डवेयर मर्मत केन्द्र तथा प्रविधि अनुसन्धानलाई प्रोत्साहन गर्ने नीति ल्यायो भने यही जनशक्तिले देशभित्रै रोजगारी सिर्जना गर्न सक्छ ।
आज विश्वमा कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ, बिग डाटा, इन्टरनेट अफ थिङ्स र रोबोटिक्सको तीव्र विकास भइरहेको छ । यी सबै प्रविधिको सफल प्रयोगका लागि उच्च क्षमताका हार्डवेयर, भरपर्दो विद्युत् आपूर्ति, द्रुत इन्टरनेट र सुरक्षित डाटा पूर्वाधार आवश्यक हुन्छ । त्यसैले नेपालले पनि भविष्यलाई ध्यानमा राख्दै आधुनिक क्ष्त् पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ ।
सूचना प्रविधिको विकास केवल सरकारको जिम्मेवारी होइन। निजी क्षेत्र, शैक्षिक संस्था, अनुसन्धान केन्द्र र आम नागरिक सबैको साझा प्रयास आवश्यक छ । विद्यालय तहदेखि नै डिजिटल साक्षरता, कम्प्युटर हार्डवेयरको आधारभूत ज्ञान, साइबर सुरक्षा तथा प्रविधिको नैतिक प्रयोगसम्बन्धी शिक्षा समावेश गरिनुपर्छ । यसले भविष्यमा सक्षम र जिम्मेवार डिजिटल नागरिक तयार पार्न मद्दत गर्नेछ ।
साथै, नेपालमा हार्डवेयर मर्मत, पुनःप्रयोग (Refurbishment) र ई–फोहोर (E–waste) व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । पुराना उपकरणको सुरक्षित व्यवस्थापन, पुनःप्रयोग र वातावरणमैत्री पुनर्चक्रणले वातावरण संरक्षणका साथै नयाँ रोजगारीका अवसर पनि सिर्जना गर्न सक्छ । डिजिटल नेपालको लक्ष्य प्राप्त गर्न आधुनिक IT हार्डवेयर, दक्ष जनशक्ति, सुरक्षित साइबर पूर्वाधार, गुणस्तरीय इन्टरनेट सेवा र स्पष्ट सरकारी नीतिको संयोजन अपरिहार्य छ। प्रविधिमा गरिने सही लगानीले सेवा प्रवाहलाई प्रभावकारी बनाउने मात्र होइन, आर्थिक विकास, सुशासन, पारदर्शिता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता पनि बढाउनेछ ।
अन्ततः, सूचना प्रविधि आजको आवश्यकता मात्र होइन, नेपालको भविष्य निर्माण गर्ने महत्वपूर्ण माध्यम हो । यदि हामीले समयमै IT हार्डवेयर, अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्तिमा लगानी गर्न सक्यौँ भने नेपाल दक्षिण एशियामै डिजिटल रूपान्तरणको उदाहरण बन्न सक्छ । प्रविधिलाई उपभोग गर्ने मात्र होइन, सिर्जना गर्ने राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्नु आजको सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो ।








