बनेपा, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले आगामी वैशाख २६ गते “छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयका प्रबन्ध निर्देशक प्रताप वैद्यले रोड रेसको उद्देश्य विद्यार्थीमा शारीरिक तन्दुरुस्ती, अनुशासन, प्रतिस्पर्धात्मक भावना र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नु रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता विद्यालयले ०७६ सालदेखि हरेक वर्ष निरन्तरता दिँदै आएको कार्यक्रम हो, जसले विद्यार्थी मात्र नभई अभिभावक र स्थानीय समुदायमा समेत खेलकुदप्रति सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ । रोड रेसमा विभिन्न उमेर समूहका विद्यार्थीहरूको सहभागिता रहनेछ । निर्धारित रुट र सुरक्षा व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको र स्थानीय प्रशासन तथा सरोकारवालासँग समन्वय गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र उत्साहपूर्ण बनाउन स्वयंसेवक परिचालन, प्राथमिक उपचारको व्यवस्था तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइने कार्यक्रममा जानकारी दिइएको थियो ।
विद्यालयले यो प्रतियोगितामार्फत विद्यार्थीमा शारीरिक सक्रियतासँगै आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने अपेक्षा राखेको छ । एसईई परीक्षा २०८२ मा सहभागी विद्यार्थीले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् । यस्तै सहभागीले १०० रुपैयाँ प्रवेश शुल्क बुझाउनु पर्नेछ भने छात्र र छात्रा गरि दुई विधामा प्रतियोगिता हुनेछ । छात्रा दौड ३.६ किलोमिटर र छात्र दौड भने ७ किलोमिटरको हुने आयोजकले जनाएको छ । दुवै विधामा प्रतिश्पर्धीमध्ये पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् । वैशाख २४ गतेभित्र नाम दर्ता गराउनु पर्नेछ भने सहभागीले एसईईको प्रवेशपत्र वा विद्यालयका प्रधानाध्यापकको प्रमाणित प्रतिलिपी तथा रंगिन फोटो पेश गर्नु पर्नेछ । छात्रहरुको दौड पनौतीदेखि विद्यालयसम्म र छात्रा दौड तीनदोबाटो, चारदोबाटो, चण्डेश्वरी हुँदै विद्यालयसम्म रहने प्रबन्ध निर्देशक वैद्यले जानकारी दिनुभयो ।