फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुने भएको छ । सरकारले निर्वाचन मिति तोकेको निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षले भोट हाल्न पाउनेछन् ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेकाले ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको उनले बताए । नारायणकाजी श्रेष्ठ र वामदेव गौतमसहित एमालेका ८, माओवादीका ७, नेकपा (एकीकृत समाजवादी)का १, लोकतान्त्रिक समाजवादीका एक, जनता समाजवादी पार्टीका एक र एक जना मनोनीत सदस्यको फागुन २० गते कार्यकाल सकिँदैछ ।








