बनेपा, लामो समयदेखि छाप्न बाँकी २५ लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मध्ये १२ लाखको छपाइ सुरु गरिने भएको छ । यसका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यसअनुसार मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनेछ । विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारीपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे । पहिलो चरणमा बजेट उपलब्ध भएअनुसार १२ लाख लाइसेन्स छापेर सेवाग्राहीलाई उपलब्ध गराइने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए ।
सुरक्षण मुद्रणसम्बन्धी ऐनमा लाइसेन्स छपाइ पनि गर्ने विषय उल्लेख भएअनुसार नै दुई निकायबीच समन्वय गरेर काम सुरु गर्न लागिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले बताए । ‘यसका लागि यातायात व्यवस्था विभागसँग समन्वय गरिरहेका थियौं, गत जेठमा यही केन्द्रबाट छपाइ अघि बढाउने भनेर समझदारी पत्रमा हस्ताक्षर भएको थियो,’ उनले भने, ‘आगलागीबाट विभागको डेटा सेन्टर र समग्र प्रणालीमा क्षति पुगेको थियो, लाइसेन्सको डेटा उपलब्ध भएको एक साताभित्र छपाइ सुरु गर्छौं ।’ हाइस्पिडका मेसिन भएकाले तोकिएकै समयमा लाइसेन्स छपाएर विभागलाई उपलब्ध गराइने ढुंगानाको भनाइ छ ।
वैदेशिक रोजगारीमा जानेलगायतलाई तत्काल लाइसेन्स चाहिँदा मुद्रण केन्द्रले नै छापेर उपलब्ध गराउनेछ । यसका लागि पहिला जस्तै तत्काल लाइसेन्स चाहिनेले विभागमा निवेदन दिनुपर्नेछ । त्यहीअनुसार छपाइ गरेर उपलब्ध गराइनेछ । विभागले यस्ता लाइसेन्स दैनिक करिब ५ सय छापेर उपलब्ध गराउँदै आएको थियो । गत २४ भदौको आगलागीसँगै विभागको सेवा ठप्प छ । आगलागीबाट विभागको भवन ध्वस्त बनेको छ, सर्भर जलेर नष्ट भएको छ । ‘पुराना सबै लाइसेन्स मुद्रण केन्द्रबाट छपाइ गरेर वितरण गर्छौं,’ विभागका निर्देशक खतिवडाले भने, ‘त्यसपछि प्रदेशअन्तर्गतकै कार्यालयबाट यो काम हुन्छ ।’ उनका अनुसार विभागमा रहेको लाइसेन्स छपाइ गर्ने मेसिन जलेको छ । आगजनीबाट विभागमा विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाउन भनेर छापेर राखिएका २२ हजारमध्ये १८ हजार लाइसेन्स जलेको अनुमान छ । यसमध्ये तीन हजार लाइसेन्स मात्र सुरक्षित भेटिएका छन् । आइतबारदेखि सबै सेवा सुरु गर्ने गरी काम भइरहेको विभागले जनाएको छ । शुक्रबार प्रणालीको परीक्षण गरिएको छ । अब सोमबारबाट सेवा सुरु गरिने खतिवडाले बताए । ‘नयाँ लाइसेन्सका लागि आवेदन दिने, नवीकरण गर्ने र ट्रायल दिने काम पनि अब सञ्चालन गर्छौं,’ उनले भने, ‘अवरुद्ध सबै सेवा अब सुरु हुन्छन् ।’