निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो ।
बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन । यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ । आयोगका सूचना अधिकारी सुमन घिमिरे बजेट तयारीकै क्रममा रहेको बताउँछन । निर्वाचन आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ । छठ पर्व सकिएलगत्तै आवश्यक सामग्री किन्न सुरू गर्नुपर्ने आयोगको आग्रह छ । यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ ।
सामग्री खरिद गर्नेबाहेक आयोगले केही रकम आकस्मिक व्यवस्थापन शीर्षकमा राख्न खोजेको छ । हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ख्याल गरेर आयोगले आकस्मिक व्यवस्थापन शीर्षकमा बजेट राख्न खोजेको हो । हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारणले निर्वाचन गराउन कठिन हुने आयोगको अनुमान छ । मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।
निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको हो । यसकारण सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ । एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगको भनाइ रहेको छ ।








