छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि विभिन्न आठ वटा स्थान तय गरेको जनाएको छ । महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन् ।
पाण्डेका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाइसकेको छ । ‘विगतजस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ । ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै प्रारम्भ गरिएको छ,’ पाण्डेले भने ।
प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे । उनले महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी पनि दिए । यी हुन् छठ पर्वका लागि महानगरपालिकाले तय गरेका आठ स्थानहरू–कमल पोखरी, गौरीघाट, बोक्सी दह, बागमती दोभान, टंकेश्वर, बल्खु कुमारी क्लब, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट ।