धुलिखेल, जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकले १५१औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यालयले धुलिखेल वडा नं १२ स्थित मानव सेवा समाज सेवा घरमा आश्रितहरुलाई खाना, कपडा र फलफुल वितरण, कार्यालय परिसर सरसफाईका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको हो ।
सेवा घरमा रहेका नागरिकलाई खाना खुवाएर, टिसर्ट र फलफुल वितरण गरिएको जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत दिपककुमार नेपालीले जानकारी दिए । बिहिबार कार्यालयमा नै आयोजित कार्यक्रममा कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरियो । गत फाल्गुनदेखि जेठ महिनासम्म कार्यसम्पादन मुल्याकंनबाट उत्कृष्ट भएका जिल्ला हुलाक कार्यालयका एलिसा पुलामी, सरिता बजगाई, रिना तोलाङ्गे, जयन्ती भण्डारी, बनेपा हुलाक कार्यालयका भोजकुमारी लामा, रोशीका सन्तोषी अधिकारी, महाभारतका दिनेशकुमार थापामगर, श्रावण महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने हुलाक कार्यालय पनौतीका प्रमुख प्रेमप्रकाश खत्री, अतिरिक्त हुलाक कार्यालय देविटारका डाँक बहाक सानुमाया तामाङ र भाद्र महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने हुलाक कार्यालय बनेपाका दिपक खड्का र अतिरिक्त हुलाक कार्यालय नालाका सुनिल श्रेष्ठ र अवकाश प्राप्त कर्मचारी सुजनबहादुर राई दनुवारलाई सम्मान गरिएको हो ।