नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि नयाँ नोट सटही शुरु गरेका छन् ।
राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले राष्ट्र बैंक लगायत बैंक तथा वित्तीय संस्थाहरूले आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएको जानकारी दिए । बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो । यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको हो ।
दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुले असोज १० गतेसम्म सटही सुविधा उपलब्ध गराउने भएका छन् । तर, नयाँ नोट सहटी शुरु गरिएको पहिलो दिन भने सर्वसाधारणमा खासै उत्साह देखिएको छैन । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीमा फाट्टफुट्ट सर्वसाधारण मात्रै नोट सटहीका लागि पुगेका छन् । सुकिला नोट प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिएको छ । जसमा ५ रुपैयाँ दरका नोट भने नयाँ दिइरहेको छ ।








