लामो समयसम्म सुत्केरी बेथा लागेकी २० वर्षीय आयुष्मा ब्लोनको आईतबार खानीखोला गाउँपालिकाको फुलडाडाँबाट हेलिकप्टरमार्फत उद्वार गरिएको छ ।
उनलाई खानीखोलाको गाउँपालिका केन्द्रस्थित ताल्ढुंगा स्वस्थ चौकीको बर्थिङ सेन्टर ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाण्डौँस्थित प्रसूति गृह थापाथलीमा लगिएको हो । खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि पहिलोपटक गाउँपालिकाबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार भएको जानकारी दिए । उनले डाँडापारि क्षेत्रमा अस्पाताल र भएको स्वास्थ्य चौकीमा उकरण अभावकै कारण पनि आपतमा हेलिकप्टरबाट सहरमै लैजानुपर्ने बाध्यता रहेको बताए ।
महिला तथा बालबालिका मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार गर्दै आएको छ । कार्यविधि अनुसार सुत्केरी पोषण स्याहार तथा यातायातवापत २० हजार रुपैयाँ उपलब्ध गराइन्छ । सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी हेलीकप्टरमार्फत उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि यो पहिलोपटकको उद्धार हो ।