काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा २०८२ भदाै १ गते “बुवा” विषयमा केन्द्रित भई टुक्का कविता लेख्दै श्रृङ्खला १८१ सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानबाट ७२ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले गर्नु भएकाे थियाे ।

टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रम सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी भएर “बुवा” विषयमा केन्द्रित भई टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

१)_[ टुक्का कविता ]_

संसार देखाउने आमा हुन् जन्मदाता
बाबा हाम्राे कर्मदाता जीवनकाे छाता ।
✍️ ताराप्रसाद चापागाईं

२)_[ टुक्का कविताहरू ]_
१.
दिए संस्कार बुबाले उत्तम, सन्तानले पक्कै लिन्छन्
पाउँछन् जे उनीबाट, सत्य कुरा फिर्तामा त्यही दिन्छन् ।
२.
जन्मदाता बुबा हुन्, कर्म पनि दिनु पर्छ
सिक्छन् जे सन्तानले, जीवनमा त्यही गर्छ ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाडौँ

३)_[ टुक्का कविताहरू ]_
१.
परिवारको इच्छा सपना सबै पूरा गर्ने
संसारको सबैभन्दा श्रेष्ठ बाबा खुसी भर्ने ।
२.
मेराे हिम्मत र आशीर्वादमा बाबा हुन्छ
ख्याल राख्ने बाबाको माया सम्झी मन रून्छ ।
✍️ हन्नाह छेत्री
दार्जिलिङ

४)_[ टुक्का कविताहरू ]_
१.
बाबा मरिमेटी पूरा गर्ने हाम्रो सपना
बन्न सकियो समाजमा संस्कारी गहना ।
२.
बाबाको त ममता मुस्कानमा झल्किन्छ
बुझ्नेको सफलता शिखरमा चुलिन्छ ।
✍️ इन्दु श्रेष्ठ
चितवन

५)_[ टुक्का कविताहरू ]_
१.
बुबा घरमा हुँदा हरेक पल सन्तानको मर्दैन आशा
सबैको बुबानै हुनुहुन्छ परिवारको जिम्मेवार खासा ।
२.
वजनको भार मापन गर्नेलाई भन्छौँ हामी तुलो
परिवारमा मान्नुपर्छ घर कै बाबा हजुर ठुलो ।
✍️ वेदु न्यौपाने

६)_[ टुक्का कविताहरू ]_
१.
अनुशासनमा बस्नुपर्छ, भन्नुहुन्छ बाबा
नत्रभने हामीलाई पार्नुहुन्छ हावाकाबा ।
२.
आमालाई माया गरौँ, बाबालाई आदर
पूजनीय गुरु हुन् ती, नगर्नु अनादर ।
✍️ होमप्रसाद नेउपाने
धरान, सुनसरी ।

७)_[ टुक्का कविताहरू ]_
१.
हातकाे ओैँला समाइकन साथमा सिकाए
विगतदेखि भविष्यसम्म यो नाम बिकाए ।
२.
जीवन चल्न कसरी पर्छ त्यो बाटो खनाए
घरका बाबु राखेर काबु भविष्य बनाए ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।

८)_[ टुक्का कविता ]_

बुबा हुन् जन्मदाता आड भरोसाका धरोहर
बुबाकै प्रेरणामा हिँड्न सकौँ हामी निरन्तर ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची

९)_[ टुक्का कविता ]_

(छन्द :सार्दूल विक्रिडित )
बाबा हुन् पहिलो धरा अनि जरा, ज्ञाता र दाता पनि
आस्थाका कसिलो धरोहर अझै आधार हाम्रा अनि ।
✍️ दीपा गुरुङ समभाव
दुबेकोल खोटाङ

१०)_[ टुक्का कविता ]_

धरका बाबा हुन् परिवारको मूल
क्षमा दिनुहुन्छ कसैले गरे भूल ।
✍️ सराेजा बान्तवा पीयूष

११)_[ टुक्का कविताहरू ]_
१.
छाेराछाेरीकाे लागि त हुन् बुबा नै पहिलो नाता
दु:ख सहेर पनि शीतल छहारी दिने छाता ।
२.
बुबा नै हो खास गुरु हात समाई साँवा अक्षर लेखाउने
परिश्रम गरि सन्तानको लागि सुन्दर संसार देखाउने ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।

१२)_[ टुक्का कविताहरू ]_
१.
बुबा नै सबै हुनु हुन्छ उत्प्रेरणाका स्रोत
साहस अनि ज्ञानको भण्डारले ओतप्रोत ।
२.
आफूलाई परे पनि सहनु हुन्छ चोट
यस्तो निर्मल बुबालाई दिन हुन्न खोट ।
✍️ प्रेम थापा “मन”
बागलुङ

१३)_[ टुक्का कविताहरू ]_
१.
आफ्नो खुसी सन्तानमै हाल्ने
बुबा हुन् परिवार अँगाल्ने ।
२.
जीवनभरि दुःख सहेर हाँसो देखाउने
बुबाले हो अडिग भई भविष्य लेखाउने ।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹

१४)_[ टुक्का कविताहरू ]_
१.
बाबा नै हो घरको मूल खाबा बनीबुताे गरेर रकम ल्याउँछ
बाबाको यी पौंरखलेनै हाम्रो परीवारमा सधैँ उज्यालो छाउँछ ।
२.
प्यारो बाबा हाम्रो सधैँभरि आर्ती दिनुहुन्छ राम्रो
बुझ्छाैँ आर्ती बाबाको अनि धरबार सुन्दर हाम्रो ।
✍️ बिबा तामाङ
दार्जिलिङ।

१५)_[ टुक्का कविता ]_

हरेक क्षेत्रमा छोराछोरीको लागी श्रमको जुवा
पेट भर्ने काँधमा बोक्ने तिनै महान व्यक्ति बुवा ।
✍️ चुडामणी देबकोटा
सिन्धुली मरिणखोला जखनी
हाल थानेटार पुरानोनैकाप काठमाडौँ

१६)_[ टुक्का कविताहरू ]_
१.
मौनमा बोल्ने शक्ति आँसु लुकाउने साहास
बुबा नै हुनुहुन्छ सधैँ भविष्यको विश्वास ।
२.
बुबा हजुर धरातल घरको आधार
हजुरकै नाममा जोडिन्छ अधिक प्यार ।
✍️ सतीश पण्डित
भानु ६ चुँदी तनहुँ
हाल चनपा ६ मनतातीर्थ ।

१७)_[ टुक्का कविताहरू ]_
१.
बुबा परिवारमा सुरक्षाको छाता जस्तै लाग्छ
जीवनको छाया भएमा दुःख पीडा सबै भाग्छ ।
२.
जिम्मेवारी वहन गर्न पछि हट्नु हुन्न
बा घरमा भएमा गिद्धे नजरले छुन्न ।
✍️ कला ढकाल
झापा

१८)_[ टुक्का कविता ]_

गुरु हो हाम्रो हात समाई लेखाउने
बुबा हाम्रो भविष्यको बाटो देखाउने ।
✍️ दीप गोले तामाङ
रौतहट

१९)_[ टुक्का कविताहरू ]_
१.
सन्तानको लागि बुबा एकमात्र घरको धरोहर
खुसी राख्न सकेमात्र घर सधैँभरि हुन्छ सुन्दर ।
२.
कुशेऔशीको दिन मात्र हैन खुसी राख्ने बुबालाई
नबिर्सौं सानोमा लेख्न सिकाउनु हुन्थ्यो हात समाइ ।
✍️ अर्जुन प्रसाद चौलागाई
हाल : अमेरिका, बोस्टन ।

२०)_[ टुक्का कविताहरू ]_
१.
आटँ भरोसा दिनुहुन्छ बुबा घरको मूल खाँबो बनेर
आदर सत्कार गरौं सधैँ बुबालाई मान्यजन भनेर ।
२.
गर्छन् घरको सम्पूर्ण रखवारी
लिएर काँधमा सबै जिम्मेवारी ।
✍️ मोती योन्जन सुब्बा
दार्जिलिङ ।

२१)_[ टुक्का कविताहरू ]_
१,
कठोर देखिए पनि मुटुभित्र कोमल
बुबा बिना अधुरो हुन्छ जीवनको पल ।
२,
बुबा भनेको जहाँ घरको अाधारस्तम्भ
उनकै बलमा टेकेको छ जीवनसम्भ ।
✍️ एवाइ प्रभात
धनकुटा

२२)_[ टुक्का कविताहरू ]_
१.
बुबा हाम्रो पहिलो गुरु संसार देखाउने
जिम्मेवारी वहन गरी यी गोडा टेकाउने ।
२.
भन्नु हुन्थ्यो जीवन जिउन कठिन कार्य गर्नुपर्छ
स्वाभिमानी इमान्दारको यहाँ तिम्ले ज्योति छर्नुपर्छ ।
✍️ घनश्याम पन्त
हरिवन सर्लाही

२३)_[ टुक्का कविताहरू ]_

बुवा प्रत्येक घरमा मुली हुने
सहजै परिवारको मन छुने ।
✍️ कार्की डिबी
माकुम सुनवल-४

२४)_[ टुक्का कविता ]_

बुबाकै नामले चिनिन्छ पैतृक्ता पहिचान गराउने
कस्को हो सन्तान यो चिन्नु पर्दा बुबाको नाम जनाउने ।
✍️ बालकृष्ण खनाल
रिप्दिकोट -३ पाल्पा

२५)_[ टुक्का कविता ]_

बुबा परिवारको एकल धरोहर सन्तान सुखमा
उहाँको दैनिक मेहनतबाट बस्नुपर्दैन दुःखमा ।
✍️ बिपी लामिछाने
दमक, झापा

२६)_[ टुक्का कविताहरू ]_
१.
बुबामा हुन्छ पारिवारिक जिम्मेवारी
जानुपर्छ विचारा सात समुन्द्र पारी ।
२.
सन्तानकाे मायाले सधैँ हाे सताउने
बुबाको छैन मनकाे घाउ बताउने ।
✍️ राजेन्द्र भुसाल (डिल्ली)
अर्घाखाँची

२७)_[ टुक्का कविताहरू ]_
१.
सबैको हुन् यहाँ छहारी
घरको बलियो प्रहारी ।
२.
बाबा भनेको नै हजुर शान
गर मनबाटै उनको मान ।
✍️ निमा छिरिङ भोटिया
जलढका कालेबुङ

२८)_[ टुक्का कविताहरू ]_
१.
परिवारका धुरीखाँबो हुन् सबैको बाबाहरू
यो भन्दा गतिलो उदाहरण त के दिउँ अरू ?।
२.
बाबा हुन् सन्तानका आड भरोसा, हिम्मत र आशा
सोध्ने गर्नु पर्छ वहाँलाई के छ भनी अभिलाषा।
✍️ अरुण कुमार भुजेल
गोरूबथान ।

२९)_[ टुक्का कविताहरू ]_
१.
बाबा हुन् घरका मुख्य पुजारी
परिवार पाल्ने गर्छन् तयारी ।
२.
समस्या घरकाे सबतिर हेर्छन्
बाबाले बाेलेका सबथाेक टेर्छन् ।
✍️ शालिकराम दाहाल
चा न पा ३ झाैखेेल
भक्तपुर

३०)_[ टुक्का कविता ]_

बुवा हुन् सन्तानको कर्म दाता
बनिदिन्छन् परिवारको गाता ।
✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा

३१)_[ टुक्का कविताहरू ]_
१.
बुबा जन्मदाता मात्र होइनन् अनि ईश्वर पनि
संस्कार र शिक्षा दिने संसार कै हुनुहुन्छ धनी ।
२.
काँधमा हलो पिँठ्युमा भारी पालन पोषण गर्न
छाेराछाेरीलाई महान बनाई लाग्छन् पार तर्न ।
✍️ अम्बिका गिरी
विराटनगर ।

३२)_[ टुक्का कविता ]_
✍️ प्रमाेद नेपाल
१.
बुबा सन्तानका सिरका छत अनि हुन् सहारा
आमाका सिन्दुर र घरका अग्ला हुन् धरहरा ।
~ वीरगञ्ज
हाल: काठमाडौ-५ ।

३३)_[ टुक्का कविता ]_

दायित्वको गह्रौँ भारी उठाउने काँध
बुबा सन्तानलाई सुरक्षा दिने बाँध ।
✍️ बीके मुखिया
दार्जिलिङ,भारत।

३४)_[ टुक्का कविताहरू ]_
१.
जन्माउने हुर्काउने बुबा हाम्रा ज्ञानी
पढ्नलेख्न मौका दिनेपार्ने भाग्यमानी ।
२.
धर्मकर्म सिकाउने हाम्रा जन्मदाता
शिक्षा दिई योग्य पार्ने बुबा धर्म ज्ञाता ।
✍️ दिलीपकुमार शर्मा कट्टेल
भद्रपुर-९, झापा

३५)_[ टुक्का कविता ]_

म मर्नु पर्छ बुबा तिमी भन्दा अगि
छोरा भए के भो अपाङ्ग भए हगि ।
✍️ बिकी सुब्बा
गैरीबास/कालेबुङ्ग

३६)_[ टुक्का कविताहरू ]_
१.
भोको पेट नाङ्गो जिउ भए पनि बुवा
पढ्न लेख्न लगाएर बोक्ने हलो जुवा ।
२.
धर्म कर्म संस्कार सँगै ज्ञान ध्यान जति
सुनाउनु हुन्थ्यो बाबा दर्शनहरू कति ।
✍️ पदमराज न्यौपाने
रामारोशन ४ अछाम

३७)_[ टुक्का कविताहरू ]_
१.
हुन मेरा संसार देखाउने बुबा जन्मदाता
अक्षर चिनाउने व्यवहार सिकाउने माता ।
२.
बुबा मेरा आकाशकाे त्याे जुन हुन
भन्नु हुन्छ सक्नुपर्छ तिमीले छुन ।
✍️ काेपिला समीक्षा
खार्पा खाेटाङ

३८)_[ टुक्का कविता ]_

बाबा हुन् घरपरिवारकाे लागि खुसी छर्ने
मनमा दुःख र पीडा लुकाई सङ्घर्ष गर्ने ।
✍️ केसर बाेहरा ( संघर्ष )
सुदूरपश्चिम अछाम ,हाल भारत ।

३९)_[ टुक्का कविताहरू ]_
१.
बुबा आफूले सबै परिवारको दुख पिएर
सधैँ थमाउने गर्छन् भविष्यको सुख लिएर ।
२.
समस्यामा जहिल्यै नि काँध थाप्ने गर्छन् छोराछोरी सानै छन् भनेर
भार बोकेका हुन्छ्न् बुबाले जीवनमा घरको मूल खाँबो बनेर ।
✍️ अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।

४०)_[ टुक्का कविता ]_

सन्तानका निम्ति बुबा महान व्यक्ति हुनुहुन्छ
सन्तान टाढा जाँदाखेरी धुरुधुरु रुनुहुन्छ ।
✍️ निर्मला धिताल

४१)_[ टुक्का कविताहरू ]_
१.
आमा र बुबाले मिलेर सिकाउँछन सन्तानलाई कर्म
त्यो परिवार बिग्रन्छ जस्ले पालना गरेको छैन यस्तो धर्म !
२.
बुबा र मुमाले जे जस्तो सिकाउँछन् सन्तानमा त्यही कुरा झल्किन्छ
ज जस्ले आ आफ्ना कर्तव्य पुरा गर्छन् उनैका भविष्य सधैँ टल्किन्छ ।
✍️ पवनकुमार बुढाथेाकी
काठमाडौँ

४२)_[ टुक्का कविताहरू ]_
१.
हुँदैन कोही यहाँ पिता समान
छुट्टै छ धरामा आफ्नाे पहिचान ।
२.
बुबा भए मात्र त घरमा उज्यालो छाउँछ
सन्तति सबले उचित संरक्षण पाउँछ ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा

४३)_[ टुक्का कविताहरू ]_
१.
बुवानै हुन् परिवारको भार बोक्ने
छोराछोरी नै हुन् अनेक माग तोक्ने ।
२.
बुवा बिना घरसंसार अधुरा
कसैले गर्नु सक्दैन है यो पुरा ।
✍️ रमा गुरुङ्ग
सालुगडा सिलीगुडी

४४)_[ टुक्का कविताहरू ]_
१.
संसार देखाए सन्ततिलाई सिकाए दुनियादारी
बुबाको महत्ता अनुकरण गर्नु असल संस्कारी ।
२.
जोबन सकाए पालपोषमा थकान नमानिकन
सगर समान प्रभावशाली देख्दछु बुबाको मन ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे

४५)_[ टुक्का कविताहरू ]_
✍️ रश्मि रिमाल
१.
बुवा हुनुहुन्छ, भयो दिव्य ज्योति हाम्रो
नभए हुन्थेन हाम्रो शिक्षादिक्षा राम्रो ।
२.
विद्या आर्जनको श्रोत बुवा मेरो
पाएँ त रम्न सानले सेरोफेरो ।

४६)_[ टुक्का कविताहरू ]_
१.
बाबा नै हुन् हरेक घरको मियो
उनीबिना अभावले गर्छ चियो ।
२.
बाबा हुन् परिवारका शीतल छहारी
गर्छन् आजीवन सन्तानको रखवारी ।
✍️ बाबुराम गौतम
गुल्मी

४७)_[ टुक्का कविता ]_

बाबा हुन् आकाश सन्तानलाई छत्रछाया दिने
सारा कष्ट खपेर सहजै परेको दु:ख लिने ।
✍️ दुर्गा भट्टराई
मोरङ

४८)_[ टुक्का कविताहरू ]_
१.
अहोरात्र खट्ने सन्तान सुखको लागि
पसिना बगाउने कठिनाईमा जागी ।
२.
जन्मदाता, पथप्रदर्शक, कर्मदाता गुरू
जीवनमा सद्मार्ग लम्काउन हुन् गर्ने सुरू ।
✍️ राज बहादुर बडुवाल
कनकासुन्दरी-५,जुम्ला

४९)_[ टुक्का कविताहरू ]_
१.
उज्यालो भविष्य दिन बगायौ पसिनाका धारा
बुबाको गरिमा बुझौँ हामी सबै सन्तान सारा ।
२.
पितासँग जोडिएको हाम्रो पहिचान
जिउँदोछँदै गरौँ आदर र सम्मान ।
✍️ रुना कर्माचार्य दाहाल
चितवन

५०)_[ टुक्का कविताहरू ]_
१.
बाबा नै हुन परिवारमा पालन पोषण गर्ने
कुनामा एकलै बसी भित्री हृदयको चोट भर्ने !
२.
सधैँ नमन गर्छु बाबा घरको मूल खाँबो मानी
पढ़ी लेखी बनौला एकदिन हजुर जस्तो ज्ञानी!
✍️ जगत भण्डारी
मिरिक, (दार्जिलिङ)

५१)_[ टुक्का कविता ]_

बाबाले सन्तानको जिम्मेवारी हाँसी काधमा बोकी
सन्तानकै खुसीमा खट्नु भयो निरन्तर नरोकी ।
✍️ सुमित्रा पोखरेल
काठमाडौँ

५२)_[ टुक्का कविताहरू ]_
१.
घर परिवारलाई शीतल छाया प्रदान गर्ने
योद्धा हुन् बुबा हरेक परिस्थिति झेल्दै खुसी भर्ने ।
२.
जिन्दगीमा सुनौलो सपना बुन्नु
बुबाले दिएको उपदेश सुन्नु ।
✍️ देव स्याङ्देन
कालेबुङ ।

५३)_[ टुक्का कविता ]_

बाबाको हामी छोरा छोरीहरू मुटुको टुक्रा हुन्छ
मेरो नानीहरू ठूलो मान्छे होस् भनि सपना गुन्छ ।
✍️ केवल राई
गैरीबास, कलेम्पोङ्ग

५४)_[ टुक्का कविताहरू ]_
१.
बुबा एक घरका खम्बा आदर गर्नुपर्छ
अफ्ठ्यारोमा साथ दिन हामी अगि सर्नुपर्छ ।
२.
बुबाका हात समाई हिँड्नु गरेर आदर
यो शिर हाम्रो झुकाई गरौँ प्रणाम सादर ।
✍️ खोम काफ्ले
दागाना,निचुला,भूटान,🇧🇹

५५)_[ टुक्का कविताहरू ]_
१.
रगत पसिना बगाएर गर्नुहुन्छ मजदुरी
बाबा नै हो घरपरिवारको महत्त्वपूर्ण धुरी !
२.
कहिले अभिभावक कहिले बन्नुहुन्छ साथी
बुवा हजुर हाम्रा लागि त भगवान् भन्दा माथि !
✍️ भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व

५६)_[ टुक्का कविताहरू ]_
१.
औँशीको एकदिन मात्र नहेरौँ न मुख
दिन सकौँ जीवन भर बुबालाई सुख ।
२.
नमागौँ कहिले निर्लज्ज बनी झगडा गरेर घरको अंश
जिम्मेवारी बुबाको हलुका पार्न सकौं बनेर असल बंश ।
✍️ रबिता महर्जन
ललितपुर

५७)_[ टुक्का कविता ]_

आफ्ना सन्तानको लागि खुसी कमाउने
बुबा हुन् सन्तानको खुसीमा रमाउने ।
✍️ खडक आर सी मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

५८)_[ टुक्का कविता ]_

सन्तानको निम्ति सधैँ परिश्रम गर्ने
बाबाले नै हाे घरमा खुसियाली भर्ने ।
✍️ विष्णु पंगेनी (पाण्डे )
वालिङ् -स्याङ्जा

५९)_[ टुक्का कविताहरू ]_
१.
बुबाको फुटेका हत्केला हेर्छु
मनभरी दुखको स्वास फेर्छु ।
२.
फेर्नु छ बुबाको फाटेको कोट
गन्दैछु गोजीमा भएको नोट ।
✍️ बिधुत गुरुङ
गोरुबथान भारत

६०)_[ टुक्का कविता ]_

आमा माता धरती हुन् बाबा आकाश सिङ्गो
शिरमा राख्छन् जिम्मेवारी नबनाई बिङ्गो ।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ

६१)_[ टुक्का कविताहरू ]_
१.
जन्मदाता हाम्रा बुबा भगवान्
लाग्छ सबैभन्दा उहाँ नै महान् ।
२.
कडा तातो तापको हुन छहारी शीतल
दुःख हुन दिँदैनन् हामीलाई कुनै पल ।
✍️ सरिता सेढाई
धादिङ

६२)_[ टुक्का कविताहरू ]_
१.
बुबा त परिवारकाे धुरीखाँबाे पाे हुन
समस्याको छानाे ओताउने अर्काे छ कुन ?।
२.
आफ्ना जुत्ता दिएर छाेराेलाई खालीखुट्टा फुटाउँछन्
नाङ्गाे ढाक्न भाेक टार्न कसरी हाेला बा ले जुटाउछन् ?।
✍️ सन्दीप विश्वकर्मा (एस वि प्रगति )
कपिलवस्तु

६३)_[ टुक्का कविताहरू ]_
१.
हिँडेर आफू गोरेटोमा मेरालागि राजमार्ग बनाइदिने
अन्जुलीमै तिर्खा मेटी बुबा मेरालागि यो कुवा खनाइदिने ।
२.
देखिन्छु रे म त दुरुस्तै बुबाझैँ भन्छन् देख्नेहरू
बग्ने रगत मभित्र उहाँकै हो सम्झ लेख्नेहरू ।
✍️ कल्पना मरासिनी
भूमिकास्थान अर्घाखाँची, हाल ललितपुर

६४)_[ टुक्का कविताहरू ]_
१,
तन मन धनका रखवारा
सन्तति जनका अतिनै प्यारा ।
२,
बुबानैे हुन् हाम्रा जुनी जुनीका यारा
लगाइ दिन्छन् हाम्राे जीवन किनारा ।
✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
साँगाबजार बनेपा १४ काभ्रे।

६५)_[ टुक्का कविता ]_

दुःख लुकाउछन् बुबाले पाएपनि जति
सधैँ साथी जस्तै बनेर माया गर्छन् कति ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

६६)_[ टुक्का कविताहरू ]_
१.
बाबु नै हाम्रो घरकाे मुख्य छानु
उनकै मेहनतमा जुट्ने मानु ।
२.
अभिभावक सन्तानको रेखदेखकाे लिन्छन् जिम्मेवारी
बा र आमा साक्षात् देवता इच्छा पुरा गर्न प्रयास जारी ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे

६७)_[ टुक्का कविता ]_

शब्दमा कसरी उतारुँ म, बुबाको त्यो अपार गाथा
सन्तानका लागि हरकष्ट सहने, श्रद्धेय त्यो माथा ।
✍️ सुशीला ढकाल
भक्तपुर

६८)_[ टुक्का कविताहरू ]_
१.
बनाइ परिवारकाे लागि महल
बुबाले गर्थे सधैँ खुसीकाे पहल।
२.
थिए उनी नै जीवनकाे सार
देख्न चाहन्थे खुसी परिवार ।
✍️ काेपिला अधिकारी
सिरानचाेक-७, गाेरखा

६९)_[ टुक्का कविताहरू ]_
१.
कहिल्यै जाँदैन दिलमा लागेकाे चाेट
जतिसुकै बाँड्नुस् नि मुठका मुठा नाेट ।
२.
राजनीति गर्नेलाई पनि हुन्छ जेल
जेलमात्रै कहाँ हाे र लाग्नु पर्छ नेल ।
✍️ नवराज भट्ट
कञ्चनपुर

७०)_[ टुक्का कविताहरू ]_
१.
घर अड्याउने जग, घरकाे मूल खम्बा, छानाे
एउटै घारमा मिलाएर राख्ने बुबा हुन् रानाे ।
२.
सन्तानका लागि हड्डी घाेट्छन् बुबा बलियाे छ रगतकाे नाता
दु:खलाई ढाकेर छहारी बनिदिने बाबा हुन् दर्विलाे छाता ।
✍️ ईश्वर लामिछाने
धरान, सुनसरी

७१)_[ टुक्का कविता ]_

कहिल्यै देख्दैनन् आफ्नो पिठ्यूँका घाउहरू
सन्तानकाे खुसी खाेज्छन् बुबा चाहिन्न अरू ।
✍️ रमेश दियाली

७२)_[ टुक्का कविताहरू ]_
१.
हुर्किँदैनन् सन्तान सबै एउटै परिवेशमा
कुनै बाबा गर्छन् खेतीपाती कुनै छन् विदेशमा ।
२.
कुशेऔशीमा मात्र बुबालाई मीठो मीठो खुवाउने
कोही पुत्र हुन्छन् तीनसय चौसट्ठी दिन रुवाउने ।
✍️ हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ