विश्व वातावरण दिवसको अवसर पारेर कोटेश्वर बहुमुखी क्याम्पसमा “हरित काव्य गोष्ठी–२०८२” सम्पन्न भयो। वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक तथा कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त प्रयोजनमा आयोजित उक्त कार्यक्रममा वातावरणप्रतिको सचेतना र साहित्यिक अभिव्यक्तिबीचको समन्वय झल्किएको थियो ।
कार्यक्रमको सञ्चालन कवि चन्द्रबहादुर लामाले गरेका थिए। विशेष आकर्षणका रूपमा “भुँइमान्छे कविता विशेष” शीर्षक विशेषाङ्क सार्वजनिक गरिएको थियो। यस विशेषाङ्कमा अघिल्लो माघ महिनामा काभ्रे नालास्थित ब्रह्मा पार्कमा आयोजित वाचन कार्यक्रममा सहभागी २४ जना कविहरूका नेपाली कवितासहित तिनका अङ्ग्रेजी अनुवाद समेटिएका छन्। विशेषाङ्कको विमोचन क्याम्पस प्रमुख प्रकाश पोखरेल, वरिष्ठ साहित्यकार उषा शेरचन, कवि बिष्णु बिभु घिमिरे र अविनाश श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रमको सुरुवातमा कवि विश्व सिग्देलले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य, संरचना र महत्वबारे प्रकाश पारेका थिए। मन्तव्यपछि आफ्नै कविता “जङ्गल गइरहेको मान्छेलाई” वाचन गरेर उपस्थित श्रोतालाई स्वागत गरेका थिए। गोष्ठीमा सहभागी कविहरूले वातावरण, जलवायु परिवर्तन, जैविक विविधता, जंगल, नदी, वन्यजन्तु संरक्षण, प्रदूषण, हिमाल र मानिसबीचको सम्बन्धजस्ता विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेका थिए । कविता वाचनमार्फत प्लास्टिक प्रदूषणदेखि चेतनाको विद्रोहसम्मका विविध पक्ष उजागर गरिएका थिए ।
कविता वाचन गर्ने स्रष्टाहरूमा विश्व सिग्देल (जङ्गल गइरहेको मान्छेलाई), अविनाश श्रेष्ठ (भोलिको गीत), अभय श्रेष्ठ, दिनेश खरेल (अर्को भूगोल खोजौँ), उषा शेरचन (वातावरण), कृष्ण बाउसे (प्लाष्टिकको अनुरोध), बिष्णु बिभु घिमिरे (धेरैलाई थाहा छैन), समा श्री (सुनकोशी र पहिरो), विमल भौकाजी (इन्द्रकमल), आर. एम. डङ्गोल (एक्लो पृथ्वी), हिमलाल श्रेष्ठ (आकाशबेली), शकुन्तला जोशी (म एउटा वरको रुख), प्रज्वल अधिकारी (हामी र पृथ्वी), दामोदर रेग्मी (दूषित वातावरणको मानवसङ्ग संवाद), छविरमण सिलवाल (समयको घट्ट), केशव सिग्देल (नदी), विजय हितान (मलाई आर्यघाट लगेर नजलाउनू), लक्ष्मी रुम्बा (जङ्गल एक सपना), ध्रुव मधिकर्मी (चेतनाको सङ्घारमा), छायादत्त न्यौपाने (सिमल), भवानी खतिवडा (हिमाल), राधिका कल्पित (कलीयुगको गान्धारी), सुरज पराजुली (राम भात खान्छ), राधेश्याम लेकाली (पर्यावरण सन्तुलनको लागि चेतना), राजु झल्लु प्रसाद (वनकविज्यूलाई रुखको रिटायरमेन्टको पत्र), मिमला शर्मा (हरियो धर्तीको काखमा), सेदुनाथ ढकाल (हाम्रो सिम्पानी पँधेरो), प्रेमिला राई (सुनसान छ गाँउ), रमी प्रिया (पिपल), सञ्जय सुमन (चिता), यादेवी ढकाल (गाँउ जाँदा), बैजयन्ती पोखरेल (बिरुवा र मानिस), बाबुकृष्ण कार्की (तिमी र वातावरण दिवस र प्रकृति दिवस), चन्द्रबहादुर लामा (हराउँदै गएको हरियाली) र धीरकुमार श्रेष्ठ (एक हुल जुलूस) रहेका थिए ।
कार्यक्रमको मध्यखण्डमा लोकगायक कमलीकान्त भेटवालले सारङ्गीको मनोहर धुनमा आफ्ना गीत प्रस्तुत गर्दै वातावरणीय सन्देशलाई लोकसंस्कृतिसँग भावनात्मक रूपले जोड्ने प्रयास गरेका थिए। उनको प्रस्तुति श्रोताहरूको हृदयमा गहिरो प्रभाव पार्न सफल देखिन्थ्यो।
समापनअन्तर्गत क्याम्पस प्रमुख प्रकाश पोखरेलले यस्ता सृजनात्मक र अर्थपूर्ण कार्यक्रम आफ्नो शैक्षिक संस्थामै आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै, साहित्य र वातावरणको अन्तरसम्बन्धले सामाजिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा शब्दाङ्कुर मासिकका सम्पादक तथा वर्तमान कविता समूहका सदस्य धीरकुमार श्रेष्ठले आयोजक, सहभागी तथा दर्शकहरूप्रति आभार प्रकट गरे। उनले साहित्यलाई वातावरणीय चेतनाको यात्रामा एक सशक्त साधनको रूपमा चित्रण गर्दै भविष्यमा यस्ता क्रियाकलाप अझ व्यापक रुपमा अघि बढाइने अपेक्षा व्यक्त गरे ।
“हरित काव्य गोष्ठी–२०८२“ ले सिर्जनात्मक माध्यमबाट वातावरणीय सन्देशलाई जनस्तरसम्म पु¥याउने अभियानमा एक उल्लेखनीय योगदान पु¥याएको छ, जसले वातावरण संरक्षणका पक्षमा साहित्यिक हस्तक्षेपलाई थप सशक्त बनाएको छ ।








