२०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ । यसै गरी असोज १३ गते सोमबार फूलपाती, १४ गते मंगलबार महाअष्टमी पर्व परेको छ भने सोही दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ ।
असोज १५ गते बुधवार महानवमी र १६ गते बिहीबार विजयादशमी अर्थात् मान्यजनबाट दसैँको टीका लगाइसकेपछि देवी विसर्जन गरिनेछ । यस्तै २० गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ । कार्तिक २ गते आइतबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २ गते कागतिहार तथा धन्वन्तरि जयन्ती परेको छ भने ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा मनाइनेछ । सोही दिनलाई सुखरात्रि पनि भनिन्छ । ५ गते बुधवार गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा परेको छ भने सोही दिन नेपालसम्वत ११४६ आरम्भ हुनेछ । यस्तै ६ गते बिहीबार यम द्धितीया अर्थात् भाइटिका परेको छ । असोज २१ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।
२०८२ सालमा मनाइने अन्य चाडपर्वको तिथि र मिति पनि समितिले उल्लेख गरेको छ । जसअनुसार २०८२ साल वैशाख १४ गते आइतबार मातातिर्थ औसी यसै गरी १७ गते बुधवार अक्षय तृतीया परेको छ । वैशाख २९ गते सोमबार गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा तथा उभौलीपर्व परेको छ । ज्येष्ठ १४ गते शनिवार निर्जला एकादशी व्रत, असार २२ गते आइतबार हरिशयनी एकादशी व्रत परेको छ । २३ गते सोमबारबाट चतुर्मास व्रत सुरु हुनेछ । आषाढ २६ गते बिहीबारको दिन गुरु पूर्णिमा परेको छ । यस दिन हामी शिक्षा दिने गुरुहरूको सम्झनामा व्यास जयन्ती मनाइन्छ ।
यस्तै श्रावण ९ गते शुक्रबार गुँलाधर्म आरम्भ हुनेछ । साउन १३ गते मंगलबार नागपञ्चमी परेको छ भने साउन २४ गते शनिवार रक्षा बन्धन, ऋषितर्पणी पूर्णिमा वा जनैपूर्णिमा परेको छ । त्यस्तै साउन २५ गते आइतबार गाईजात्रा, ३१ गते शनिवार श्रीकृष्णजन्मअष्टमी, भाद्र ७ गते शनिवार कुशेऔंसी परेको छ । ८ गते आइतबार गुँलाधर्म समाप्ति हुनेछ । भाद्र ९ गते दरखाने दिन परेको छ भने १० गते हरितालिका तिज र १२ गते बिहीबार ऋषिपञ्चमी व्रत वा सप्तऋषि पूजा गरेर मनाइन्छ । भाद्र २२ गते पूर्णिमा तिथि परेको छ भने यस दिन खग्रास चन्द्र ग्रहण लाग्नेछ । भाद्र २३ गते सोमबारबाट सोह्र श्राद्ध सुरु भई असोज ५ गते आइतबार औँसी श्राद्ध गरिसके पछि पितृ विसर्जन गरिनेछ ।
यसै गरी असोज २१ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ । कात्तिक १० गते सोमबार डालापर्व र षठपर्व मनाइन्छ । १५ गते शनिवार हरिबोधनी एकादशी व्रत परेको छ । १९ गते बुधवार पूर्णिमा व्रत, कार्तिक स्थान र चतुर्मास व्रत समाप्ति हुनेछ । मंसिर ३ गते बुधवार बालाचतुर्दशी परेको छ । ८ गते सोमबार धान्यपूर्णिमा, ९ गते मंगलबार विवाह पञ्चमी । माघ १ गते माघेसङ्क्रान्ती, माघीपर्व मनाइन्छ भने सोही दिनबाट उत्तरायण सुरु हुनेछ । माघ ५ गते सोमबार सोनाम ल्होसार, माघ ९ गते शुक्रबार वसन्त पञ्चमी, श्रीपञ्चमी १८ गते आइतबार माघस्थान समाप्ति र एक महिना लामो श्री स्वस्थानी व्रत पनि समापन । फागुन ३ गते आइतबार माहाशिवरात्री, ६ गते ग्याल्पो ल्होसार परेको छ भने १९ गते फागुपूर्णिमा, सोही दिन २०८२ सालको दोस्रो खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । यस्तै चैत्र ४ गते बुधवार घोडेजात्रा, १२ गते बिहीबार चैतेदशै र ५ गते रामवनमी पर्व परेको छ ।








