बनेपा, गत असोजको विपदबाट अति प्रभावित रोशी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेट संशोधन गरेको छ । रोशीको विशेष गाउँसभाले पुनर्निर्माण र पुनर्स्थापनाका बजेट कार्यक्रम संशोधन प्रस्ताव पारित गरेको हो ।

रोशीले चालू आर्थिक वर्ष २०८१–०८२ का लागि ६९ करोड २० लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेट कार्यान्वयनको चरणमा रहेको रोशीले विपद् पुनः निर्माणका लागि बजेट संशोधन गरेर ६५ करोड ७७ लाख ९८ हजार कायम गरेको हो । चालू आर्थिक वर्षको बजेट संशोधनका लागि गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबाले गाउँसभामा बजेट संशोधन प्रस्ताव पेस गरेका थिए । गत असोजमा आएको बाढी र पहिरोका कारण राजस्व सङ्कलन सङ्कुचित हुने र धेरै संरचनामा क्षति भएपछि बजेट संशोधन गरिएको हो । रोशीले संशोधित बजेटमा क्षति भएका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेको छ ।

बाढी पहिरोका कारण रोशीमा १२ जनाको मृत्यु भएको थियो । ५०४ घरधुरीहरू पूर्ण रूपमा क्षति भएको थियो । ९११ घरधुरीहरू उच्च जोखिम तथा आंशिक क्षति भएको रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले जानकारी दिए । उनका अनुसार बाढी पहिरोले रोशीमा २ हजार ५४४ घरधुरीको खेत बारी बगाउनुका साथै पालिकाका विभिन्न गौरवका योजनाहरू पूर्ण रूपमा क्षति भएको छ ।

बाढीले रोशी–१ फलामे साँघुमा निर्माणाधीन १० शैय्याको अस्पताल, औद्योगिक ग्राम, वडा नम्बर ११ कालढुंगास्थित बिपी राजमार्गको छेवैमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालय पूर्ण रूपमा क्षति भएको छ ।