धुलिखेल, धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ को बार्षिक समिक्षा कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षता रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले समिक्षा कार्यक्रममा विषय प्रस्तुत गर्दै चालु वर्ष तथा आगामी दिनमा विगतमा भएका राम्रा अभ्यासको निरन्तरता तथा कमिकमजोरी भए सुधार्दै अघि वढ्न महत्वपूर्ण हुने बताए । नगर प्रमुख ब्याञ्जुले अघिल्लो वर्षका योजनाहरुको कार्यान्वयनबाट चालु वर्षका योजनाहरु संचालन तथा विपद् पछिको क्षति र त्यसको पुर्ननिर्माणमा स्थानीय सरकार, वडा तथा नागरिकहरुको भूमिका र तीन तहकै सरकारको समन्वयका बारेमा समिक्षा गरिने बताए । उपप्रमुख निराजन जंगम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिव तथा शाखा प्रमुखहरु, परिषद्का पदाधिकारीहरु, बाल संञ्जाल लगायतका पदाधिकारी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागितामा समिक्षा कार्यक्रम आयोजना गरिएको हो ।
समिक्षा कार्यक्रममा हरेक वडाहरुले आफुले गरेका प्रगति तथा समस्या र चुनौतीका बारेमा धारणा राखेका थिए । समिक्षा कार्यक्रममा एक देखि अर्काे वडामा भएका अभ्यासको आदान प्रदान र चालु वर्ष विपद्का कारण नगर सभाले विनियोजन गरेका योजना र बजेटहरुको शंशोधनका लागि स्थानीयहरुले सुझाव दिएको सहभागिहरुले बताए । विपद् पछि धुलिखेलमा चरम खानेपानीको अभाव शुरु भएको छ । भुमेडाँडाबाट ल्याएको पानी रोशी खोलाले पाईपहरु बगाउँदा स्थानीयहरुको अवरोधका कारण धुलिखेल खानेपानी उपभोक्ता समितिले संचालनमा ल्याउन सकेको छैन ।