बनेपा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढीपहिरोले अति प्रभावित काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न स्थानको शनिबार अवलोकन गरेका छन् ।
मुख्यमन्त्री लामालाई गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायत जनप्रतिनिधीहरुले पालिकाको क्षति र अहिले भइरहेको राहत वितरण लगायत विषयमा जानकारी गराएका छन । अवलोकनपछि मुख्यमन्त्री लामाले पुनर्निर्माणका काममा प्रदेश सरकारले सहयोग गर्ने बताए । गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ७८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७८ जनाको मृत्यु र ७५ जना घाइते छन् । ५ जना अझै बेपत्ता छन् । पालिकाअनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७, रोशीमा १२, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको छ ।